Odapalika - The Fourth Estate - चौथो अंग
आमाको दूधको महत्व सिकाउँदै गोदावरीका आमाहरू

ललितपुर । गोदावरी नगरपालिका वडा नं ३ कि करिश्मा गिरी आफ्नो दुध नियमित खुवाउँदा बच्चाले रोग प्रतिधोरात्मक क्षमता बढ्ने कुरा राम्रोसँग बुझेकी छन् । 

आफू गर्भवती भएदेखि नै जन्मने बच्चाको रेखदेख कसरी गर्ने भन्ने बिषयमा सचेत उनीे शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दुधमा हुनेमा विस्वस्त थिइन्  । 

आमाको दुध जस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाईदैन । आमाको दुध अमृत समान हो भन्ने बुझेर उनले दैनिक शिशुको आवश्यकता अनुसार १० देखि १२ पटकसम्म स्तनपान गराइन् ।

उनीजस्तै शारदा लामाको पनि स्तनपान संगै बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुनेगरेको अनुभव छ ।

विश्वमै स्तनपान सप्ताह मनाईरहँदा नेपालमा सचेतनामूलक कार्यहरु भएका छन् । गोदावरी नगरपालिका वडा नं ३ मा संरक्षण तथा विकास संस्था(सिडिओ नेपाल) ले आमाको पोषिलो दुधको महत्व बुझाउन सचेतना कार्यक्रम आयोजना गरेको छ । पछिल्लो समय आमाहरुको सौन्दर्य नासिने डरले दुध खुवाउने क्रम घटेसँगै दुधको महत्व बुझाउन वडा कार्यालय, स्वास्थ्य चौकीसँगको समन्वयमा सचेतना कार्यक्रम आयोजना गरेको हो । 

प्रकृतिले प्राणीलाई जीवन र जीवन बचाई राख्ने प्राणवायु तथा अनेकौँ प्रकारका खाद्यपदार्थहरू पनि निःशुल्क दिएको थाहा पाएको बताउँदै  भर्खर जन्मेको शिशुले प्रकृतिका कुनै पनि वस्तुहरू खान र पचाउन नसक्ने अवस्थामा हुने हुनाले, प्रकृतिले खाद्यवस्तुहरूको सारतत्व र उपयुक्त खाद्यवस्तु आमाको स्तनबाट दिएको बताउँछन् स्थानीय कोपिला वाईवा र विन्दु तामाङ पनि ।

सो कार्यक्रममा गोदावरी नगरपालिका वडा नं ३ का अध्यक्ष सानुराजा घिमिरेले रोगसँग लड्ने क्षमता प्रदान गर्ने दुधको तुलना कुनै खाद्य वस्तुले गर्न नसक्ने बताए ।

स्तपान गराउन आमको मात्रै नभएर परिवारको पनि निक्कै ठूलो भुमिका रहने कार्यक्रममा जानकारी दिइएको थियो । स्तनपानमा घरपरिवारको भूमिका हुने गर्छ । ३५ बर्षदेखि स्वास्थ्य स्वयसेविकाको रुपमा कार्यरत नारायणी आचार्यले शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु शिशुको अधिकार भएको बताइन् । 

आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) अनुसार आमाको दुधको विकल्पमा अन्य दुध बेचविखन गर्न नपाइने उल्लेख छ । 

सिडिओ नेपालको हेल्थ अफिसर अनिषा श्रेष्ठले बिगौती दुध शिशुको लागि खोप सरह भएको बताउँदै यसले शिशुलाई तातो चिसो वातावरण र रोगबाट लड्ने क्षमता बढाउँने हुँदा जन्मनासाथ जतिसक्दो छिटो बिगौती दुध खुवाउनुपर्ने बताइन् । 

६ महिनासम्म आमाको दुधमात्र खुवाउन सहयोग गर्ने र ६ महिनादेखि कम्तीमा दुई वर्षसम्म आमाको दुधसँगै पूरक खाना पनि खुवाउन सहयोग गर्दै आमालाई दैनिक ५ किसिमका खानाहरू अन्य अवस्थामा भन्दा थप २ पटक खुवाउने कुरामा ध्यान दिनुपर्नेमा उनको जोड थियो । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update