काठमाडौँ । २८ वर्ष अघि ९ जना शिक्षकको पहलमा सुरु भएको बचत अभियानले यति ठूलो सहकारीको रुप लिएला भनेर कृष्णबाबु श्रेष्ठले सोचेका पनि थिएनन् । लमजुङ जिल्लाको भोटेओडार नगरपालिका स्थायी घर भएका श्रेष्ठ पेशाले शिक्षक हुन् ।
उनीसहित तत्कालीन समयमा लमजुङको भक्ति नमुना माध्यमिक विद्यालय (हाल सुन्दरबजार नगरपालिका– ९ भोटेओडार) का ९ जना शिक्षकहरु मिलेर मासिक १०० रुपैयाँ जम्मा गर्ने निर्णय गरे । उनीहरुको निर्णयलाई साथ दिए भोटेओडारकै दामोदर र माधवप्रसाद अधिकारी दाजुभाइले ।
१६ माघ २०५३ मा पलाएको यो सोच यतिबेला सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका रुपमा जिल्लाभर चिनिएको मात्र छैन ५ हजार बढी बचतकर्ताको भरोसा जित्दै अघि बढेको छ ।
२०५३ सालमा ११ जना मिलेर सुरु गरेको सहकारीले २० असार, २०५७ मा बैधानिकता पायो । मासिक रुपमा १०० रुपैयाँ बचत गर्न सुरु भएको ४ वर्षको अबधिमा २२ लाख रुपैयाँ लगानीसँगै १४६ जना सेयर सदस्य रहने गरी डिभिजन सहकारी कार्यालय दमौलीमा दर्ता भयो सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्था ।
सहकारीका संस्थापक अध्यक्ष बने उनै शिक्षक श्रेष्ठ । अभियान सुरु भएको २८ वर्ष र विधिवत रुपमा डिभिजन सहकारी कार्यालयमा दर्ता भएर कारोबार सुरु भएको २४ वर्षको अवधिमा संस्थाका सेयर सदस्य ४ हजार ३१० जना पुगेका छन् । १०० रुपैयाँ बचत राख्दै सुरु भएको सहकारीको कुल पुँजी मात्रै ६४ करोड ६७ लाख ४४ हजार रुपैयाँभन्दा बढी पुगेको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रविलास सापकोटाका अनुसार १ अर्बभन्दा बढीको कारोबार भइरहेको छ । उनका अनुसार ५६ करोड ३२ लाख ५६ हजारर रुपैैयाँ लगानी, ४० करोड ६३ लाख ५३ हजार रुपैयाँ कुल बचत र ७ करोड ६२ लाखभन्दा बढी रकम जगेडा तथा अन्य कोषमा राखिएको छ । यस्तै, ११ करोड ६७ लाख ५८ हजार भन्दा बढी रकम सेयरपुँजी छ ।
१ अर्ब बढीको कारोबार, छैन कुनै रोकटोक
बचतकर्ताहरुले अन्य सहकारी संस्थामा जम्मा गरेको बचत रकम फिर्ता नपाएको गुनासो गर्ने गरे पनि सिर्जनात्मक सहकारीमा हालसम्म कुनै समस्या नभएको सीईओ सापकोटा बताउँछन् ।
‘हामीले नियमित रुपमा बचत संकलन गरेका छौँ । सानो पुँजीको ऋण समेत लगानी गर्ने गरेका छौँ । अहिलेसम्म हाम्रो सहकारीमा कुनै समस्या देखिएको छैन,’ उनले भने ।
संस्थाका लगानीकर्ता र सञ्चालकहरु सबै भोटेओडार आसपासकै स्थानीय भएका कारण समेत समस्या नआएको दाबी गर्छन् उनी ।
‘हाम्रो सहकारी १०० रुपैयाँ संकलन अभियानबाट सुरु भएको सहकारी हो । यसका सञ्चालक सेवानिवृत्त शिक्षक, राष्ट्रसेवक कर्मचारी तथा स्थानीयहरु हुनुहुन्छ’, उनले भने, ‘हाम्रो सहकारीका बचतकर्ता भनेकै भैसीको दुध, गाई बाख्रा तथा अन्नपात बिक्री वितरण गरेर बचत गर्नेहरु हुनुहुन्छ । स्थानीय सञ्चालक भएकै कारण बचतकर्ताहरुले विश्वास गरेर नियमित बचत गर्दै आउनुभएको हो । अहिलेसम्म बचतकर्ताले विश्वास गर्नुभएको छ भने सञ्चालकले कुनै बदमासी नगर्दा यो संकटबाट जोगिन सकेका हौँ ।’
नियममा चलेका छौँः अध्यक्ष
विगत ६ वर्षदेखि सिर्जनात्मक सहकारी संस्थाको नेतृत्व युवा व्यवसायी रामजी कडेंलले लिएका छन् । १० कात्तिक २०७५ मा भएको संस्थाको साधारणसभाले युवा व्यवसायी कंडेललाई सहकारीको अध्यक्षको जिम्मा दिएको थियो । अध्यक्षको ४ वर्षे कार्यकाल सकेर २०७९ मा पुनः कडेंल नै सहकारीको अध्यक्ष बनेका छन् ।
‘म पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएको छु । म सहकारीमा हुँदासम्म कुनै खालमा समस्या आउन दिन्न । अहिले देशभर सञ्चालित अधिंकाश सहकारीहरु संकटमा हुँदा हामीले सिर्जनात्मक सहकारीमा कुनै संकट आउन दिएका छैनाँै’, उनले भने । उनी सहकारी ऐन र नियम अनुसार संस्था सञ्चालित भएकै कारण समस्या नआएको बताउँछन् ।
ठूला लगानीमा रोक, घरदैलो अभियान
पछिल्लो समय सहकारी क्षेत्रमा संकट उत्पन्न भएदेखि सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाले ठूला ऋण लगानीमा रोक लगाएको छ ।
अध्यक्ष कडेंलले सानो रकम ऋण लगानी नियमित रुपमा भइरहेको भन्दै ठूलो रकम लगानीमा रोक लगाइएको बताए ।
‘अहिले सबैतिर सहकारी समस्यामा परेको भनिएको छ । अहिलेको अवस्था हेरेर हामीले ठूला ऋण लगानीमा रोक लगाएका छौँ । बचतकर्ताको आवश्यकता र मागका आधारमा ससानो लगानी भने नियमित नै राखेका छौँ’, हामीले बचतकर्ताको घरदैलोमा पुगेर बचत अभियान गर्दै आएका छाैँ’, उनले भने ।
एक दुईवटा सहकारी संस्थाको बदमासीका कारण अन्य सहकारी संस्थाहरु समेत समस्यामा पर्न थालेपछि सञ्चालक समितिको बैठकबाट निर्णय गरेरै घरदैलो अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
भाखा नाघेका ऋणीको हर्जनामा छुट
सिर्जनात्मक साकोसको गत ५ बैशाखमा बसेको सञ्चालक समितिको बैठकले हर्जनामा छुट दिने निर्णय गरेको छ ।
२ वर्षभन्दा लामो समयदेखि नियमित रुपमा साँवा तथा व्याज भुक्तानी भएका ऋणीहरुले तिर्ने हर्जानामा २५ देखि ७५ प्रतिशतसम्म छुट दिने निर्णय भएको अध्यक्ष कडेंल बताउँछन् ।
‘अहिलेको अवस्थामा व्यापार व्यवसाय त्यति राम्रो छैन । पहिला नियमित रुपमा सावाँ तथा ब्याज भुक्तानी गर्दै आउनु भएका केही बचतकर्ता व्यापार व्यवसाय राम्रो नभएकै कारण भुक्तानी गर्न सक्ने अवस्थामा हुनुहुन्न । हामीले त्यस्ता बचतकर्ताहरुले तिर्नपर्ने हर्जना रकममा छुट दिने निर्णय गरेका हौँ’, उनले भने ।
उनका अनुसार बैशाख ५ गतेदेखि असार मसान्तसम्मको समय राखेर ऋण लगानीको आधारमा ऋणीले तिर्नपर्ने हर्जनामा २५ देखि ७५ प्रतिशतसम्म छुटको निर्णय भएको हो ।
२२ वर्षदेखि सहकारीमा आवद्ध, ८ वर्षदेखि सीईओ
इन्द्रविलास सापकोटा भोटेओडारकै स्थानीय हुन् । स्थानीयहरु मिलेर सञ्चालन गरेको सहकारीमा उनी विगत २२ वर्षदेखि आवद्ध छन् । सहकारीमा कर्मचारीका रुपमा भित्रिएका उनी विगत ८ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । काममा अब्बल र अनुशासित भएकै कारण सञ्चालक समितिले उनलाई विगत ८ वर्षदेखि प्रमुख कार्यकारीको जिम्मेवारी दिदैँ आएको छ ।
फराकिलो बन्दै लगानीको दायरा
सहकारीका अध्यक्ष कडेंल कृषि, ब्यापार, आवास तथा घर निर्माणका क्षेत्रमा ऋण लगानी गर्दै आएको बताउँछन् । उनले सहकारीको हाल बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाभर कार्यक्षेत्र रहेको बताउँदै जिल्लाभर विस्तारको योजना रहेको बताए ।
‘अहिले हाम्रो कार्यक्षेत्र ३ वटा पालिकामात्रै छ । हामीले जिल्लाभर विस्तारका लागि सहकारी डिभिजन कार्यालयमा निवेदन दिएका थियौँ । अहिले नयाँ सहकारी दर्ता र पुराना सहकारीको कार्यक्षेत्र विस्तारमा रोक लगाइएको रहेछ, सरकारले खुला गर्याे भने हामी जिल्लाभर सेवा विस्तार गछौँ,’ उनले भने ।
उनका अनुसार सहकारी जिल्ला सहकारी संघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहाकारी संघ (नेस्फुन), सहकारी बैंक, सहकारी महासंघमा आवद्ध छ । राम्रो काम गरेकै कारण सहकारीले नेस्फुन र डिभिजन सहकारी कार्यालय दमौलीबाट सम्मान र पुरस्कारसमेत पाएको छ ।
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ३ लाख
सहकारीले पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेशिनेहरुका लागि समेत ऋण लगानी गर्ने गरेको छ । भिसा लागेर जाने टुंगो भएका तर अन्तिममा पैसाका कारण रोकिएकाहरुलाई सहजीकरण गर्नेगरी बिना धितो ३ लाख रुपैयाँसम्म ऋण लगानी गर्ने गरिएको अध्यक्षले बताए ।
बचतकर्ताले माग गरेको आधारमा सहकारीले आवश्यकताका आधारमा ९० दिनभित्र ऋण लगानी गर्ने गरिएको उनले बताए । सुन्दरबजार नगरपालिकाभित्र हाल ५० भन्दा बढी सहकारी संस्थाहरु आवद्ध छन् ।
बचतकर्ता भन्छन्ः सिर्जनात्मक भरलाग्दो छ
सुन्दरबजार नगरपालिका फेदिकुनाकी चन्द्रकला अधिकारी उमेरले ६० टेकिन् । उनको गोठमा रहरलाग्दा भैँसी छन् ।
भैँसीपालनबाट प्राप्त आम्दानीको एउटा हिस्सा उनले सिर्जनात्मक साकोसमा नियमित जम्मा गर्छिन् । अधिकारीलाई सहकारीसँग यति ठूलो भरोसा छ कि घरमा भन्दा उनी सहकारीमा पैसा जम्मा गर्दा सुरक्षित महसुस गर्छिन् ।
‘सिर्जनात्मक सहकारीले व्याज पनि दिन्छ, मागेको बेला पैसा पनि दिन्छ, समस्या पर्दा हेर्ने र भरोसा गर्ने नै हाम्रो त यही सहकारी त हो नि, अरुको भन्दै यसकै भरलाग्छ,’ उनी भनिछन् ।
अधिकारीजस्ता थुप्रै स्थानीयको मन जितेकै कारण सहकारीमा व्यवस्थापक मात्र होइन, कर्मचारीदेखि बचतकर्तासम्म लामो समयसम्म सहकारीसँग जोडिन सकेका छन् ।
कम छैन राप्ती बचत तथा ऋण सहकारी पनि
चितवनको राप्ती नगरपालिकामा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्थाले पनि नियमित रुपमा बचत संकलन तथा ऋण लगानी गर्दै आएको छ ।
सहकारीका सीईओ जित बहादुर महतो ऋण लगानी र बचत फिर्तामा हालसम्म कुनै समस्या नआएको बताउँछन् ।
उनका अनुसार सहकारीको कुल कारोबार ७ करोडभन्दा बढी छ । ७ करोड ४ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा सञ्चालन आम्दानी ९० लाख ३० हजार र ७१ लाख १५ हजार खर्च भएर १९ लाख १५ हजार रुपैयाँ आम्दानी भएको छ ।
१ साउन, २०७४ मो ५ करोड रुपैयाँ अधिकृत पुँजी र १ करोड १३ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहने गरी सहकारी संस्था दर्ता भएको थियो । दर्ता भएको छोटो अबधिमै सेयरसदस्य संख्या विस्तारदेखि ऋण लगानी गरी नाफा कमाउन सफल भएको उनको भनाइ छ ।
निक्षेप संकलनका लागि दैनिक बचत खाता, नियमित मासिक खाता, दिगाो बचत खाता, महिला बचत खाता, बाल बचत खाता, ऐच्छिक बचत खाता जेष्ठ नागरिक बचत खाता र आवद्यिक बचत खाता सञ्चालन गरिएको उनको भनाइ छ ।
सहकारीले कृषि कर्जा, व्यवसायिक कर्जा, हायर पर्चेज घरासयी, शैक्षिक र निक्षेप सुरक्षमा कर्जा लगानी गर्दै आएको छ । बचत तथा ऋण सहकारी संस्थाहरु समस्याग्रस्त बन्दै गएका बेला गाउँगाउँमा संचालनमा रहेका सिर्जनात्मक, राप्तीजस्ता सहकारीहरु स्थानीयको मन जित्दै उद्धेश्यमूलक काम गरिरहेका छन् ।
पछिल्ला दिन सहकारीको छवि बिग्रदै गएको बेला सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायसँग गाउँगाउँमा खुलेका सहकारीका बारेमा भने कम गुनासो आउने गरेको अनुभव छ ।
उनी उद्धेश्यअनुसारको मात्रै काम गर्ने सहकारीमा समस्या नदेखिएको बताउँदै राम्रा काम गरेका सहकारीका विषयमा चर्चा नभएका कारण सहकारीको समग्र छवि नराम्रो बन्न थालेको बताउँछन् ।
‘पहिला त उद्धेश्यअनुसार काम गर्नुपर्यो, केही सहकारीमा समस्या छ भन्दैमा देशभरका सहकारीलाई एउटै नजरले हेर्न मिल्दैन । धेरैले राम्रो काम पनि गरेका छन् । समस्या कहाँ छ भने राम्रो काम गर्नेहरुका विषयमा चर्चा नै भएन,’ उनी भन्छन् ।