Odapalika - The Fourth Estate - चौथो अंग
आस्था केसीको ‘जनयुद्धका चिठी’ 

काठमाडौँ । सञ्चारकर्मी आस्था केसीले लेखेको ‘जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक भएको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पुस्तक सार्वजनिक गरे ।

१५ वर्षको उमेरमा माओवादी शसस्त्र बिद्रोहमा होमिएकी  केसीले सोे समयमा आफूले प्राप्त गरेका १५० वटा चिठीहरु संकलन गरेर पुस्तकाकारमा प्रकाशन गरेकी हुन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भुमिगत जीवन बिताइन् । सोही समयमा सहकर्मी योद्धा, घरपरिवार र नेताहरुबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीहरुलाई उनले पुस्तकमा समेटेकी छन् ।

जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दोलनका आयाम, प्रेमको रंगीन अनुभूति, युद्धमोर्चाका आरोह अवरोह, कार्यक्षेत्रको  अनुभूति, आत्मीय मन, जसको प्रेरणाले कठिन बाटोमा सहज बनायो र बाल्यकालका दौंतरी र घरका पत्र गरि १० भागमा केन्द्रीत गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन  युद्धमय परिवेश बुझ्न मद्दत गर्ने उनको भनाई छ ।

पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । केसीको उज्यालोको खोजी गजल संग्रह प्रकाशित छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update