Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत लिदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) संसदमा विश्वासको मत लिदैछन् । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसको निरन्तर अवरोधका बीच प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

जसपा नेपालले ३१ बैशाखमा समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको थियो । एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धारा १०० को उपधारा २ मा व्यवस्था छ । 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

गृहमन्त्री रवि लामिछानेमाथि छानविनि गर्न संसदीय समिति बनाउनुपर्ने अडानमा रहेको कांग्रेसले भने निरन्तर अवरोध गर्दै आएको छ । 

हिजोको बैठकमा गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएपनि त्यसपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख घिमिरेले आजसम्मका लागि बैठक स्थगित गरेका थिए । 

आज सहकारी ठगीबारे संसदीय समिति बनाउन यसअघि भएको सहमतिमा त्यसको टिओआर कस्तो बनाउने भन्ने सहमति गरेर विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update