Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस संसदीय दलले भन्यो– हाम्रा नेताप्रति लक्षित आक्षेप प्रमाणित गरेर देखाऊ

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेताप्रति लक्षित अभिव्यक्तिको छानविन, अनुसन्धान र विषय प्रमाणित गर्न चुनौति दिएको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो चुनौति दिएको हो । जेठ ६ गते प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै गृहमन्त्री लामिछानेले कांग्रेस नेता लक्षित गम्भीर आरोपहरु लगाएका थिए ।

‘माननीय रवि लामिछानेले नेपाली कांग्रेसका विभिन्न नेताप्रति लक्षित गरी दिएको अभिव्यक्तिको छानविन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन नेपाली कांग्रेस खुला रहेको यो बैठक ठहर गर्दछ,’ बैठकपछि कांग्रेस संसदीय दलले जारी गरेको प्रेसनोटमा उल्लेख छ ।

लाखौं नेपाली नागरिकको सहकारीमा बचत गरेको अरबौं रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको विषयमा नेपाली कांग्रेस र संघीय संसदको अन्य विपक्षी दलले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको आरोप कांग्रेसको छ । तर, लामिछाने गृहमन्त्री बनेपछि सो ठगीको अनुसन्धान रोकिएको कांग्रेसको भनाइ छ ।

‘सहकारीको रकम ठगी गर्ने कार्यमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने संलग्न रहेको पर्याप्त आधारहरु तथ्य साथ सार्वजनिक भईसकेका छन् । सहकारी ठगीमा विभिन्न प्रकरणमा भईरहेको छानविन अनुसन्धान माननीय रवि लामिछाने गृहमन्त्री भए पश्चात छानविन अनुसन्धान अवरुद्ध गरिएका छन्,’ कांग्रेस संसदीय दलले जारी गरेको प्रेसनोटमा भनिएको छ ।

सहकारी ठगी प्रकरणका छानविन अनुसन्धान र अभियोजन गर्ने सबै संयन्त्रलाई दुरुपयोग गरिएको कांग्रेसको भनाइ छ । यसैकारण सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समितिको आवश्यकता रहेको कांग्रेसले दोहोर्याएको छ ।

‘नेपाल प्रहरी, महान्यायधिवक्ता जस्ता सरकारी निकाय छानविन अबरुद्ध गर्न प्रयोग भएका छन् । नेपाली कांग्रेस संसदीय दलको यो बैठक सहकारी ठगीका विभिन्न प्रकरणहरुमा माननीय गृहमन्त्री रवि लामिछाने माथि स्वतन्त्र र निष्पक्ष छानविनको सुनिश्चितता गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने पूर्व निर्णयमा दृढ छ,’ प्रेसनोटमा उल्लेख छ ।

यस्तै, जेठ ६ गते गृहमन्त्री लामिछानेले संसदमा बोलेका विषयप्रति पनि कांग्रेसले गम्भीर रुपमा लिएको छ । लामिछानेले संसदमा उभिएर अशिष्ट, असत्य, कपोकल्पित, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्ति दिएको कांग्रेसको ठहर छ ।

‘नेपाल सरकारका गृहमन्त्री मानीय रवि लामिछानेले हिजो २०८१ साल जेठ ६ गते प्रतिनिधिसभामा बोल्नु भएको विषयलाई नेपाली कांग्रेसले अत्यन्त गम्भीर रुपले लिएको छ । गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोकल्पीत, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्तिको यो बैठक घोर निन्दा र भत्सर्ना गर्दछ । सहकारी ठगीको अपराधमा संलग्न गृहमन्त्रीले अरुलाई प्रश्न सोध्ने, विभन्न तथाकथित विषयमा अरुलाई देखाएर आफूमाथिको अनुसन्धान र छानविनबाट भाग्ने प्रयत्न गरेको यो बैठक ठहर गर्दछ । साथै उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछानेको गैरजिम्मेवार र असत्य अभिव्यक्तिप्रति यो बैठक सम्माननीय प्रधानमन्त्रीको ध्यान गम्भीर रुपले आकृष्ट गर्न चाहन्छ,’ कांग्रेस संसदीय दलले भनेको छ ।

यस्तै, कांग्रेस संसदीय दलले जेठ ७ गते विहान १ः१५ बजे तनहुँ व्यास नगरपालिका ३ तरकारी लाइनमा विद्युत सटसर्किट भई र देशका विभिन्न भागमा आगोलागी भई निकै धनको क्षति भएको भएको भन्दै क्षतिको मूल्याङ्कन गरी आगलागीबाट पिडितहरुलाई उचित राहत प्रदान गर्न सरकारसँग माग पनि गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update