Odapalika - The Fourth Estate - चौथो अंग
१० महिनापछि शिक्षक-कर्मचारीले तलब खाए, मेयरको फोन छोराले उठाए 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा एउटा कोलम छ– स्थानीय तहको आर्थिक वर्ष २०८०÷०८१ को बजेट अपडेट । 

यहाँभित्र छिरेपछि देशभरका स्थानीय तहले बजेट कहिले ल्याए ? उनीहरुको सम्पर्क ठेगाना के हो लगायतका विवरण भेटिन्छ । 

कानुनतः स्थानीय तहले हरेक आर्थिक वर्षको असार १० भित्रमा बजेट ल्याइसक्नुपर्छ । तर रौतहटको फतुवा बिजयपुर नगरपालिकाले भने आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने समय आउन १ महिना बाँकी हुँदासम्म चालु आर्थिक वर्षको बजेट नल्याएको तथ्यांक संघीय मामिलाको वेभसाइटले देखाउँछ । 

सामान्यको यो तथ्य सही छ कि छैन भनेर हामीले फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई फोन गर्यौं । 

प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल गत २६ चैतमा मात्र नगरपालिकामा कार्यभार सम्हाल्न पुगेका रहेछन् । रमाइलो त के छ भने नगरपालिकाका मेयर गोपाल राय यादव भ्रष्टाचारी ठहर भएर निलम्बनमा छन् । 

कार्यवाहक मेयरका रुपमा उपमेयर अमबेया खातुनले काम गरिरहेकी छन् । बझ्नेगरी भन्ने हो भने उनी कार्यवाहक नगरप्रमुखका रुपमा पदासिन मात्र छिन् । 

पाललाई हामीले सोध्यौं, ‘पालिकाले अहिलेसम्म बजेट किन नल्याएको ? 

उनले सहजै उत्तर दिए, बजेट आइसकेको छ त !’ हाम्रो प्रतिप्रश्न, ‘कहिले आयो हाकिमसा’ब बजेट ? उनले थपे, ‘ठ्याक्कै मिति त थाहा भएन तर बजेट आइसकेको छ ।’ 

उनले गत फागुनमा बजेट पारित भएको अडकल गरे । हामीले संघीय मामिलादेखि पालिकाको वेवसाइटसम्ममा किन बजेट नराखेको भनेपछि हामिकले प्रतिप्रश्न गरे, ‘मैले आइटीलाई पठाउनु भनेको थिएँ, अझै आएको रहेनछ ?

प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको अंक, आएको मिति लगायत थाहा नहुनुको कारण पनि रहेछ । तर त्यो कारणमा प्रवेश गर्नुअघि कार्यवाहक मेयरका कुरा सुन्न जरुरी छ । 

प्रमुख प्रशासकीय अधिकृतसँगको कुराकानीपछि हामीले कार्यवाहक मेयर अमबेया खातुनलाई फोन गर्यौं । फोन उठाएपछि सामान्य चिनापर्ची गरेर हामीले बजेट कहिले ल्याउनुभयो भनेर सोध्यौँ ।  उपमेयरले खातुनले फोन अर्कै व्यक्तिलाई थमाइन् । ती व्यक्तिले भने, ‘ हेल्लो को बोल्नुभएको ?’

हामीले परिचय दिएर उनको परिचय माग्यौँ । 

‘म उहाँ (कार्यवाहक मेयर)को छोरा हो । उनले परिचय त दिए तर नाम भनेनन् । हामीले बजेटबारे प्रश्न गरेपछि उनले भने, ‘यसबारे हाकिमसा’ब (प्रमुख प्रशासकीय अधिकृत)लाई सोध्नु न ।’ 

कार्यबाहक मेयरले छोरामार्फत फेरि अधिकृततिरै फकाईदिएपछि हामीले उपमेयरज्यू किन नबोल्नुभएको भनेर सोध्यौँ । छोराले फोनमै जवाफ दिए, ‘उहाँलाई नेपाली बोल्न आउँदैन । 

कुराकानी गर्न भाषगत अवरोध भएका कारण थप कुराकानी सम्भव भएन । 

अब प्रमुख प्रशासकीय अधिकृतका कुरा सुनौँ । 

अधिकृत पालका अनुसार उनी गत चैतमा मात्र पालिकामा हाजिर भए । हाजिर हुँदा यस्ता देखियो कि बजेट नल्याएका कारण र कार्यवाहक मेयरले बजेट खर्चको अख्तियारी नदिएका कारण पालिकाका कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायतले गत साउनयता तलबदेखि सेवा सुविधासमेत पाएका रहेनछन् । 

‘म आएपछि पछिल्लो १ महिना तलब निकासा गर्दैमा र त्यसअघिको एक महिना तलब खुवाउने बातावरण बनाउन लाग्दैमा बित्यो,’ पालले वडापालिकासँग भने, ‘अझै केहीको तलव खुवाउनै बाँकी छ, मैले दैनिक सामान्य प्रशासनिक कामबाहेक केही हेर्नसमेत पाएको छैन ।’ 

उनकाअनुसार अझै केहीदिन तलव खुवाउनमै उनको समय बित्नेछ । पालका अनुसार पालिकाले बजेट ल्याएपनि पूर्वाधारलगायतका सबै बजेट फ्रिज हुने अवस्थामा पुगेका छन् ।  नगरपालिकामा कार्यरत ६३ जनासमेत गरेर ८० जना बढी कर्मचारीले तलब खाएर दैनिक प्रशासनिक बाहेकका कुनैपनि काम गर्न नपाएको पालको भनाइ छ । 

बजेट समयमा नआएको र जनप्रतिनिधिबीच समन्वय अभावकै कारण रौतहटको फतुवा बिजयपुर अन्य पालिकको तुलनामा पूर्वाधारदेखि लिएर सबैखाले विकासका लाभ लिनबाट १ वर्ष पछि परेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update