Odapalika - The Fourth Estate - चौथो अंग
विवाद मिलाउन काठमाडाैँ महानगरको ‘न्याय चौतारी’ 

काठमाडौँ । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौतारी’ कार्यक्रम थालनी गरेको छ । 

वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन । यस चौतारीको उपयोगिता के हो, भन्ने विषयमा छलफल गरिएको थियो । 

कार्यक्रम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चौतारीमा सरोकारवाला पक्ष बसेर गरिएको छलफल, न्यायमा जित र हारको होइन, दुवै पक्षको लाभमा केन्द्रीत हुने बताइन् ।

‘न्यायमा हारेर कसैले पीडा बोध गर्नु नपरोस् । झगडाका कारण समय र सम्पत्ति खर्च गर्नु नपरोस् । विवादमा अल्झिएर जीवन समस्यामा नपरोस्, भनेर हामीले न्यायलाई नागरिकको आँगनमै पु¥याउन कार्यक्रम आयोजना गरिएको हो ।’ उहाँले भन्नुभयो, ‘आदर्श समाजको कल्पना गरौँ । जहाँ विवाद नै नहोस् । विवाद भएर अड्डा अदालत जानुभन्दा हाम्रा प्रचलित सामाजिक व्यवस्थाअनुरुप समाधान गरौँ । यसैमा सबैको भलो छ,’ उनले भनिन् ।

सामाजिक मान्यताका प्रसङ्ग उठाउँदै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले ठूलो रुखको मुनि बस्दा एकसरो पानी छेकिने भनाइमा बिम्ब रहेको बताए ‘सानातिना विवादलाई त्यही मिलाउन पाए धेरै द्वन्द्वहरु सिर्जना भएकै ठाउँमै रोकिन्छन् । हामीले देश वुझ्यौँ । विदेश वुझ्यौँ । तर, आफ्नै मौलिक राम्रा अभ्यास विर्सियौँ । यसरी विर्सिएका अभ्यासमध्ये चौतारीमा आफूआफू बसेर विवाद मिलाउने अभ्यास पनि हो ।’ उनले भने ।

आफ्ना टोलका समस्याका बारेमा आफ्नै टोलमा छलफल गर्ने संस्कार विकास गर्न चौतारी संरचना निर्माण गर्ने, भएका चौतारीलाई संरक्षण गरेर छलफल चलाउने वडाको योजना रहेको वडाध्यक्ष धर्मराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update