Odapalika - The Fourth Estate - चौथो अंग
फलेवासको बलः पालिकाको बिरुवा, किसानको फल

काठमाडौँ । पर्वतको फलेवास नगरपालिकामा ११ वटा वडा छन् । स्थानीयको अधिकांश हिस्सा कृषि कर्ममा निर्भर छ । कृषि कर्ममा आवद्ध कृषकका लागि पालिकाले ल्याएको एउटा नाराले यतिवेला पालिकाभित्र लोकप्रियता हासिल गर्दैछ । 

किसानलाई व्यावसायिक फलफूल खेतीमा आकर्षित गर्न नगरपालिकाले ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’ अघि सारेर धमाधम अनुदानमा बिरुवा वितरण गरिरहेको छ । 

अनुदानमा पाएका विरुवा लिन कृषकहरुको पालिकामा बाक्लो उपस्थिति छ । व्यावसायिक रुपमा फलफूल खेती गर्न इच्छुक किसानलाई आवश्यकताअनुसार बिरुवा उपलब्ध गराउन नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । नगरका ११ वटै वडाका किसानले यस कार्यक्रम अन्तर्गत हावापानी र भौगोलिक अवस्था अनुसारका फलफूलका विरुवा माग गर्न सक्ने नगर प्रमुख गंगाधर तिवारी बताउँछन् । 

फलेवासमा आँप, लिची, सुन्तला, कागती, जुनार, एभोकाडो, अम्बा, अङ्गुर, ड्रागन फ्रुट, केरालगायत फलफूलको उत्पादन हुँदै आएको छ । राम्रो उत्पादन हुने फलफूललाई व्यावसायिक रुपमा खेती गरेर किसान स्वरोजगार बनुन र नगरपालिकालाई नै फलफूलमा आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख तिवारी बताउँछन् । 

पालिकाले जुन वडामा जुन फलफूल बढी उत्पादन हुन्छ त्यही विस्तार गर्ने नीति अनुसार मागअनुसार कृषकलाइृ विरवा उपलव्ध गराउन थालेको हो । यसरी दिइने विरुवामा नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको छ । 

व्यावसायिक रुपमा लागेका किसान, कृषि समूह, सहकारी वा फर्मले न्यूनतम १० वटाभन्दा बढी बिरुवा माग गर्नुपर्ने नगरपालिकाले जनाएको छ । युवा शक्तिको बढ्दो पलायन, बसाइँसराइ, बाँदर आतङ्क, जनशक्तिको अभावलगायत कारण बढ्दै गएको बाँझो जमिनको सदुपयोग गर्नका लागि पनि फलफूल खेती विस्तारमा नगरले जोड दिएको हो । किसानलाई बिरुवासँगै अन्य प्राविधिक सहयोग पनि नगरले गर्ने भएको छ । 

पालिकाबाट ४ करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ । पालिकाको खानीगाउँ, मुडिकुवा, देवीस्थानमा आँप, लिची, कटहर, एभोकाडो, कागती, केरालगायत फलफूल प्रशस्त मात्रामा उत्पादन गर्न सकिने फलेवास नगरपालिकाका कृषि शाखा प्रमुख केदार सापकोटा बताउँछन् । 

नगरले अनुदानमा दिएका विरुवा पाउन कृषक र कृषि संंस्थाले नागरिकता, फर्म दर्ताको प्रमाणपत्र, जग्गाको लालपुर्जा, सम्बन्धित वडा कार्यालयको सिफारिस र न्यूनतम १० वटा बिरुवाभन्दा बढी माग गरेको निवेदन बुझाउनुपर्ने नियम बनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update