Odapalika - The Fourth Estate - चौथो अंग
मलाई सहकारीले ठग्यो भन्ने डोलप्रसादको सहकारी हिसावः सेयर १३ लाखको, ऋण २ करोडको, निक्षेप छैन २ पैसा पनि

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्थालले सहकारी संस्थामा आफूले गरेको लगानीका विषयमा यसअघि दिएको अभिव्यक्ति झुटो रहेको तथ्य सार्वजनिक भएको छ ।

मन्त्री अर्यालले गत चैत २४ गते शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रममा एउटा सहकारीको नामै लिएर सो सहकारीमा आफ्नो २३ लाख रुपैयाँ फसेको र सो रकम उठाइदिनेलाई केही रकम दिने बताएका थिए ।

‘रास्वपाको उपसभापति डिपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला, मैले २३ लाख रुपैयाँ लगानी गरेको छु त्यो सहकारीमा, म ठगिएको छु । मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो बोल्ने सांसदहरुले । लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ, मेरो २३ लाख आएपछि उहाँहरुको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ, मै ठगिएको छु,’ मन्त्री अर्यालले भनेका थिए ।

मन्त्री अर्यालले हाम्रो नयाँ कृषि सहकारीमा आफ्नो २३ लाख रुपैयाँ फसेको दाबी गरेका थिए । तर, सरकारले हालै सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा मन्त्री अर्यालले हाम्रो नयाँ कृषि सहकारीमा लगानी नगरेको पुष्टी गरेको छ ।

अझ रोचक पक्ष त के छ भने मन्त्री अर्यालले देशभरका सबै सहकारीमा गरेर १३ लाख रुपैयाँ मात्रै लगानी गरेका छन् । उनले दाबी गरे जस्तो २३ लाख रुपैयाँ सहकारीमा उनको लगानी भएको देखिदैन । मन्त्री अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उनले ३ वटा सहकारीमा गरेर १३ लाख रुपैयाँ लगानी गरेका छन् ।

मन्त्री अर्यालले हस्ताक्षर गरेको उनको सम्पत्ति विवरणमा जनसागर सहकारी संस्थाको १० हजार कित्ता सेयर किनेका छन् । यस्तै, उनकी श्रीमती अम्बिका केसीले सुर्वणभूमि सहकारीको १ हजार कित्ता र संयम सहकारीको २ हजार कित्ता सेयर खरिद गरेकी छिन् । उनीहरुले यो सेयर आफ्नो व्यापारबाट भएको आम्दानीले खरिद गरेको उल्लेख गरेका छन् ।

मन्त्री अर्यालले आफूले सेयर लगानी गरेकोभन्दा धेरै गुणाबढी रकम सहकारी संस्थाबाट ऋणको रुपमा लिएका छन् । उनले जनसागर सहकारी संस्थाबाट २०७४ साल अघि २ करोड रुपैयाँ ऋण लिएको र सो ऋणमध्ये १ करोड रुपैयाँ तिरेको जानकारी दिएका छन् ।

मन्त्री अर्यालले हाम्रो नयाँ कृषि सहकारीमा २३ लाख रुपैयाँ फसेको बताए पनि उनले सो सहकारीमा आफ्नो वा परिवारको सेयर भएको वा निक्षेप राखेको देखाएका छैनन् । यसैकारण उनले गरेको सो दाबी शंकास्पद देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update