Odapalika - The Fourth Estate - चौथो अंग
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरमा

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न नेपाल प्रहरीको एक टोली कान्तिपुरको कार्यालय पुगेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको हो ।

सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन् । बर्दीधारी प्रहरी चाहिँ भुइँतलामा छन् ।

नागरिकता सम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । 

जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् । गृहमन्त्री लामिछानेले कान्तिपुर मिडियासहित सो मिडियाका अध्यक्ष सिरोहियालाई सार्वजनिक रुपमा नै विभिन्न आरोप लगाएका थिए । गृहमन्त्री लामिछाने स्वतन्त्र मिडियाप्रति विभिन्न आरोप लगाएर बद्नाम गर्ने कार्य गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update