Odapalika - The Fourth Estate - चौथो अंग
भ्रष्टाचार अभियोगमा मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा 

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषको मिथिला बिहारी नगरपालिकामा छापा मारेको छ । अख्तियारको क्षेत्रिय कार्यालय बर्दिवासको टोलीले वडा नम्बर ९ मा खानेपानी आयोजनामा अनियमितता भएको भन्दै सोधपुछ गरेर केही कागजात लगेकाे नगर प्रमुख राजेन्द्र प्रसाद यादवले बताए । 

यसअघि हिजोमात्र मिथिला विहारी नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादव विरुद्ध  भ्रष्टाचार गरेको भन्दै उजुरी परेको थियो । 

यादवले विभिन्न तालिम, भक्ता र भौतिक संरचना निर्माण र विद्यालयमा पोशाक वितरण गर्ने नाममा रकम हिनामिना गरी अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा निवेदन परेको हो । 

वडाध्यक्ष यादवले जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको जेष्ठ नागरिकहरुले बताएको प्रमाणसहित उजुरी हालिएको उल्लेख गरिएको छ ।

त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमूलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत स्ट्रीट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको विल भरपाई पेश गरी १ लाख ७८ हजार भुक्तानी लिएको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।  

वडा ९ मा २ इन्चको कृषि पम्पिङ सेट निर्माणमा लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, वडा नं. ९ अन्तर्गत खानेपानीका लागि हाते पाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाखमा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको आरोप वडाध्यक्षमाथि छ । 

अख्तियारको टोलीले नगरपालिका र वडाकार्यालय पुगेर कागजात नियन्त्रणमा लिएपनि वडाध्यक्ष भने सम्पर्कमा आएका छैनन् । मेयर यादवपनि वडाध्यक्षसँग आफ्नो सम्पर्क हुन नसकिरहेको बताउँछन् । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update