Odapalika - The Fourth Estate - चौथो अंग
यसरी सफल बन्दैछ उज्यालो महाभारत अभियान 

काठमाडौँ । काभ्रेपलाञ्चोककोे अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियानले सार्थकता पाउने भएको छ । केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तार गरेर गाउँपालिकाका सबैको घरमा जेठभित्रै बिजुली बल्ने भएको छ । 

गाउँपालिका कार्यालयले कुनै बस्तीका घरमा केन्द्रीय बिजुलीको तार तान्न, हाउस वाइरिङ गर्न, मिटर बक्स जोड्न बाँकी रहेको वा छुटमा तत्कालै आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सार्वजनिक अपिल गरेको छ । 

गाउँपालिकालाई नै पूर्ण विद्युतीकरण गर्ने अन्तिम तयारीमा पुगेकाले उज्यालो अभियानलाई यही जेठमा सक्ने योजनामा रहेको अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार अभियानका क्रममा वडा नं १, ३, ४, ५, ६ र ७ मा केन्द्रीय प्रसारणको बिजुली बत्ती बलिसकेको छ । गाउँपालिकामा ८ वटा वडा छन् । 

वडा नं २ र ८ मा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य भइरहेको छ । स्थानीय जनप्रतिनिधिले ४ वर्षअघि महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले १ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरी विद्युतीकरणको काम थालिएको थियो । 

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणले महाभारत गाउँपालिका मात्र नभई काभ्रेपलाञ्चोकलाई नै पूर्ण विद्युतीकरण गर्न बाँकी रहेका स्थानीय तहमा तीव्रगतिमा विस्तार कार्यमा लाग्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केन्द्रीय प्रसारण लाइन विस्तारअन्तर्गत विद्युतीकरण भइरहेका खानीखोला गाउँपालिकाको केही स्थान, रोशी गाउँपालिकाको केही स्थान र बेथानचोक गाउँपालिकाको केही स्थानमा अपुग पोल, तार तान्नेलगायत काम एक साताभित्रै ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update