Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहः नाम जुधेर हैरान !

काठमाडौँ । सुनकोशी गाउँपालिका, ओखलढुंगाका अध्यक्ष् कमल तामाङलाई पालिकाको तर्फबाट प्रतिनिधित्व गरेर कार्यक्रममा जाँदा सधै एउटा समस्या आउँछ । पालिकाको नामसँगै जिल्ला पनि भन्नैपर्ने । 

देशभरका ७५३ स्थानीय तहका बेग्लावेग्लै नाम छन् । उनीहरुले पालिकाको नाम मात्र भनेपनि पुग्छ । तर तामाङजस्ता १० वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई भने परिचय दिदा पालिकासँगै जिल्लाको नमा भन्नैपर्ने वाध्यता छ । 

एकै नामका पालिका फरक फरक जिल्लामा पनि भएका कारण जनप्रतिनिधिमात्र होइन कर्मचारीले पनि हैरानी खेपिरहेका छन् । सरुवा भएर जाने क्रममा होस या भेटघाटका लागि आउने, सवै मामलामा कर्मचारीदेखि आफन्तसम्म झुक्किने गरेको अनुभव उनीहरुको छ । 

देशभरका १० वटा स्थानीय तहका नाम जुधेका कारण त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पालिकाको नामसँगै जिल्लापनि जोड्नैपर्ने वाध्यता भएको सनाउँछन् । 

१९ वटा बाहेक देशभरका सबै स्थानीय तह केनद्रले जुराइदिएकै नामका आधारमा अहिलेसम्म चलिरहेका छन् । 

कानुनले स्थानीय तहले नाम, पालिकाको केनद्र र वडाको सिमाना हेरफेरको निर्णया गर्न पाउने व्यवस्था गरेपनि भौगोलिक निकटता र अपनत्वका कारण अर्कोसँग नाम जुधेपनि केही पालिकाहरुले भने नाम फेर्न चाहेका छैनन् । 

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक, ओखलढुंगा र  सिन्धुलीमा छ । त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक र धादिङ र डोल्पामा छ । जसका कारण यहाँका पालिकाले नामसँगे जिललाको नामपनि भन्नैपर्ने वाध्यता छ । 

यी मात्रै होइन १० भन्दा वढी स्थानीय तह एउटै नामका छन् भने कतिपय गाउँपालिका र नगरपालिको नामपनि एउटै छ । 

यी हुन् एउटै नाम तर फरक जिल्लामा भएका पालिका 

  • सुनकोशी गाउँपालिकाः सिन्धुपाल्चोक, ओखलढुंगा र  सिन्धुली
  • त्रिपुरासुन्दरी गाउँपालिकाः सिन्धुपाल्चोक र धादिङ र डोल्पा ।
  • लिखु गाउँपालिकाः ओखलढंगा, रामेछाप र नुवाकोट ।
  • बागमती गाउँपालिकाः ललितपुर, मकवानपुर । बागमती नगरपालिका महोत्तरी ।
  • कालिका गाउँपालिकाः पर्सा रसुवा र कालिकोट ।
  • महालक्ष्मी नगरपालिकाः ललितपुर र धनुकटा ।
  • गोदावरी नगरपालिकाः ललितपुर र कैलाली ।
  • त्रिवेणी नगरपालिकाः बाजुरा, त्रिवेणी गाउँपालिकाः रुकुम र सल्यान ।
  • मायादेवी गाउँपालिकाः कपिलबस्तु र रुपन्देही ।
  • तारकेश्वर नगरपालिकाः काठमाडौँ, तारकेश्वर गाउँपालिकाः नुवाकोट 
  • याङबरक गाउँपालिकाः पाँचथर र ताप्लेजुङ ।

उस्तैउस्तै पनि छन् नाम 

कतिपय पालिकाको नाम उस्तै उस्तै भएका कारण पनि झुक्किने खालका छन् । मनहरी गाउँपालिका मकवानपुरमा पर्छ भने महोत्तरीको एउटा गाउँपालिकाको नाम मनरा छ । 

गोरखामा गण्डकी गाउँपालिका छ भने  गुल्मीमा कालीगण्डकी गाउँपाकिला छ । ओखलढुंगा र रामेछाप र नुवाकोटमा लिखु गाउँपालिका छ । सोलुखुम्बुमा भने लिखुपिके गाउँपालिका छ । तेह्थुममा छथर नामको गाउँपालिका छ भने धनकुटामा छथर जोरपाटी गाउँपालिका छ । 

यी हुन् नाम फेर्ने पालिका 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म १९ भन्दा वढी स्थानीय तहले नाम परिवर्तन गरेका छन् भने ६२ वटा स्थानीय तहका केन्द्र परिवर्तन भएको छ । यो तथ्यांक पालिका र वडा कार्यालयसमेतको हो ।

कालीकोटको कालिका गाउँपालिका शुभकालिका गाउँपालिका भएको छ । सल्यानको ढोरचौर गाउँपालिका सिद्धकुमाख गाउँपालिका भएको छ भने कुमाखमालिका गाउँपालिका कुमाख गाउँपालिका भएको छ । यी दुवै पालिकाले नाम र केन्द्र दुवै परिवर्तन गरेका हुन् । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाले नलगाड नगरपालिका बनाएको छ भने केन्द्र पनि परिवर्तन गरेको छ । मुस्ताङको दोलामे गाउँपालिकाले नाम परिवर्तन गरेर लो–घेकर दामोदरकुण्ड गाउँपालिका बनाएको छ ।

मनाङको नारफु गाउँपालिकाले नार्पा भूमि गाउँपालिका नाम बनाएर केन्द्र पनि परिवर्तन गरेको छ । मनाङकै नासोङ र नेस्याङ गाउँपालिकाले पनि नाम परिवर्तन गरेर क्रमशः नासोँ र मनाङ ङिस्याङ गाउँपालिका बनाएका छन् । मनाङ ङिस्याङले केन्द्रसमेत परिवर्तन गरेको छ ।कास्कीको पोखरा लेखनाथ महानगरपालिकाले नाम परिवर्तन गरेर पोखरा महानगरपालिका बनाएको छ भने बर्दघाट सुस्तापूर्वको बुङ्दीकाली गाउँपालिकाले नाम फेरेर बौदीकाली गाउँपालिका बनाएको छ ।

गोरखाको भीमसेन गाउँपालिकाले भीमसेन थापा गाउँपालिका बनाएको छ भने मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका नाम राखेको छ । गोरखाको सुलिकोट गाउँपालिकाले वारपार सुलिकोट नाम बनाउँदा धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाले सहिदभूमि गाउँपालिकामा रूपान्तरण गरेको छ ।

भोजपुरको ट्याक्केमैयुमले नाम फेरेर टेम्केमैयुम गाउँपालिका बनाएको छ भने खोटाङको दिप्रुङ गाउँपालिकाले दिप्रुङ चुइचुम्चा बनाएको छ । सोलुखुम्बुको दूधकोसी गाउँपालिकाले नाम फेरेर माप्य दूधकोसी गाउँपालिका बनाएको छ भने सोलुखुम्बुकै दूधकोसी गाउँपालिकाले थुलुङ दूधकोसी गाउँपालिका बनाएको छ । सुनसरीको बराह नगरपालिकाले बराहक्षेत्र नगरपालिका र भोक्राहा गाउँपालिकाले भोक्राहा नरसिंह गाउँपालिका नामाकरण गरेका छन् ।

ताप्लेजुङको याङबरक गाउँपालिकाले पाथिभरा याङबरक, खोटाङको रूपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल रूपाकोट मझुवागढी र खोटाङकै लामिडाँडा गाउँपालिकाले रावाबेँसी गाउँपालिका बनाएको छ । उता, उदयपुरको सुनकोसी गाउँपालिकाले नाम फेरेर लिम्चुङबुङ गाउँपालिका बनाउँदा सुनसरीको हरिनगरा गाउँपालिकाले हरिनगर नाम राखेको छ । यसैगरी, प्रदेश २ को सदरमुकामसमेत रहेको धनुषाको जनकपुर उपमहानगरपालिकाले जनकपुरधाम उपमहानगरपालिका नाम जुराएको छ ।

सप्तरीको बेल्ही चपेना गाउँपालिकाले राजगढ गाउँपालिका नामकरण गरेको छ भने धादिङको नेत्रावती गाउँपालिकाले नेत्रावती डवजोङ गाउँपालिका भनेर नामाकरण गरेको छ ।

रसुवाको पार्वतीकुण्ड गाउँपालिकाले पनि नाम फेरेर आमाछोदिङमो गाउँपालिका बनाएको छ भने नुवाकोटको मेघाङ गाउँपालिकाले म्यगङ गाउँपालिकाका बनाएको छ ।रामेछापको लिखु गाउँपालिकाले नाम फेरेर लिखु तामाकोसी गाउँपालिका बनाउँदा राल्पाको दुईखोली गाउँपालिकाले परिवर्तन गाउँपालिका बनाएको छ ।

गुल्मीस्थित रुरु गाउँपालिकाले रुरुक्षेत्र गाउँपालिका, रोल्पाको सुवर्णावती गाउँपालिकाले सुनिल स्मृति गाउँपालिका नाम जुराएको छ । त्यस्तै, बझाङको काँडा गाउँपालिकाले साइपाल, बाजुराको छेडेदह गाउँपालिकाले खप्तड छेडेदह गाउँपालिका, बाजुराको पाण्डवगुफाले जगन्नाथ गाउँपालिका राखेर केन्द्रले दिएको नाम परिवर्तन गरेका छन् ।

डोटीको बोगाटन गाउँपालिकाले बोगाटन फुङसिल गाउँपालिका नाम जुराएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिकाले भने नाम फेरेर स्वामीकार्तिक खापर गाउँपालिका बनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update