Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौंँका सडकमा चटपटे र पानी पुरी निषेध !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वर्खायाम भर पानीपुरी चटपटेलगायतका खुल्ला क्षेत्रमा राखेर बेचिने खाद्य पदार्थ र रवरले बाँधेर प्लाष्टिकको पोकाबाट दूध बिक्रीमा रोक लगाउने तयारी थालेको छ । 

महानगरपालिकाको आज बसेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्ष्ण समितिको बैठकमा समिति संयोजकसमेत रहेकी उपमेयर सुनिता ढंगोलले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएलगत्तै महानगरले बन्द गराउने तयारी थालेको हो । 

बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन बैठका उनले निर्देशन दिएकी थिइन् । 

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन्न्,’ बैठकमा उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने बताए ।  उनले भने,  खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ ।’

बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्यांकन समितिका सदस्य राजेन्द्र मानन्धरले  फाल्नु पर्ने अवस्थामा पुगेका तरकारी र फलफुल बेचबिखनमा तत्काल रोक लगाउनु पर्ने बताए ।

बैठकमा यस अघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जार जफत र नष्ट गरिएको  बताए । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update