Odapalika - The Fourth Estate - चौथो अंग
शहिदनगर नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ 

धनुषा ।  शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । 

वाल निर्माण गर्ने काममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारको टोलीले इन्जिनियर चौधरी र उनका साथी गुरुदेव यादवलाई १ लाख रुपैयाा घुस लिएको रकम सहित पक्राउ गरेको हो । 

उनीहरुबाट १ लाख ७५ हजार रुपैयाँको चेकसमेत बरामत गरेको अख्तियारले जनाएको छ । उनीहरु शहिदनगर नगरपालिका वडा नं ३ स्थित पशु सेवा केन्द्रको भवनबाट पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले धनुषाको मिथिला बिहारी नगरपालिकामा पनि छापा मारेको छ । अख्तियारको क्षेत्रिय कार्यालय बर्दिवासको टोलीले वडा नम्बर ९ मा खानेपानी आयोजनामा अनियमितता भएको भन्दै सोधपुछ गरेर केही कागजात लगेको नगर प्रमुख राजेन्द्र प्रसाद यादवले बताए । 

यसअघि हिजोमात्र मिथिला विहारी नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादव विरुद्ध  भ्रष्टाचार गरेको भन्दै उजुरी परेको थियो । 

यादवले विभिन्न तालिम, भक्ता र भौतिक संरचना निर्माण र विद्यालयमा पोशाक वितरण गर्ने नाममा रकम हिनामिना गरी अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा निवेदन परेको हो । 

वडाध्यक्ष यादवले जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको जेष्ठ नागरिकहरुले बताएको प्रमाणसहित उजुरी हालिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update