Odapalika - The Fourth Estate - चौथो अंग
नवलपुरका ८ वटै स्थानीय तहमा १३ जेठदेखि पोलियो खोप अभियान 

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्वमा १९ हजार ५२९ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । 

जेठ १३ देखि २५ गतेसम्म दुई चरणमा जिल्लाका आठ पालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिए । 

पहिलो चरण जेठ १३ देखि १९ गतेसम्म गैँडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ भने दोस्रो चरणमा जेठ २० देखि २५ गतेसम्ममा कावासोती, मध्यबिन्दु र देवचुली नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा खोप लगाइने तालिका छ ।

बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा ३९१ खोप केन्द्र निर्धारण गरी ४९४ जनशक्ति परिचालन गरिएको स्रोत व्यक्ति खरेलप्रसाद चौधरीले बताए ।

आठवटै स्थानीय तहमध्ये गैँडाकोट नगरपालिकामा ४ हजार ३३१, कावासोती नगरपालिकामा ४ हजार ८५३, देवचुली नगरपालिकामा ३ हजार ३९८, मध्यबिन्दु नगरपालिकामा २ हजार ८९८, विनयी त्रिवेणी गाउँपालिकामा २ हजार ७३, हुप्सेकोट गाउँपालिकामा १ हजार ११३, बौदीकाली गाउँपालिकामा ४५८ र बुलिङटार गाउँपालिकामा ४ ३४ गरी १९ हजार ५२९ जनालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने चौधरीले जानकारी दिए ।

    यो अभियानमा विसं २०७३ वैशाख १ देखि विसं २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने भएको छ । सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

    सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्य चौकीसँग आवश्यक समन्वय गरिसकिएको र सबै तयारी पूरा भएको चौधरीले जानकारी दिनुभयो ।  

    विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप अभियान सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई आइपिभी खोप लगाउने लक्ष राखिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update