Odapalika - The Fourth Estate - चौथो अंग
बजेट नल्याउने कोशी र मधेश प्रदेशका १२ नगरपालिकाका बहानाहरु

काठमाडौँ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्छ । बजेट पेश गर्ने भनेको महानगर, उपमहानगर र नगरपालिकाहरुले नगरसभामा र गाउँपालिकाहरुले गाउँसभामा हो ।

सभा (नगरसभा वा गाउँसभा) मा पेश गरेको आगामी आर्थिक वर्षको बजेट सोही असार मसान्तभित्र पारित गरिसक्नु पर्छ । बजेट पारित पनि नगरसभा वा गाउँसभाले नै हो । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।

सोही ऐनको दफा ६९ अनुसार सबै स्थानीय तहहरुले स्थानीय संचित कोष बनाउनु पर्छ । स्थानीय तहहरुले आफूलाई प्राप्त भएको सबै आम्दानी (राजस्वसंकलन, संघ र प्रदेशबाट प्राप्त हुने रकम तथा अन्य कुनै पनि प्रकारबाट प्राप्त हुने आम्दानी) लाई स्थानीय संचित कोषमा जम्मा गर्नुपर्छ । र, स्थानीय तहहरुले गर्ने सबै खर्च सोही स्थानीय संचित कोषबाट मात्रै गर्नुपर्छ । 

अर्थात, स्थानीय तहरुले प्राप्त भएको सबै आम्दानी स्थानीय संचित कोषमा जम्मा गर्नुपर्छ भने सोही कोषमा जम्मा गरेपछि मात्रै रकम खर्च गर्न पाइन्छ । स्थानीय संचित कोषमा जम्मा भएको रकम नगरपालिकालाई खर्च गर्नको लागि सभाले अनुमति दिनुपर्छ । सभाले खर्चको अनुमति दिनु भनेको बजेट पारित हुनु हो । महानगरपालिका, उपमहानगर पालिका, नगरपालिका र गाउँपालिकाहरुले सभाबाट बजेट पारित नगराई एक रुपैयाँ पनि खर्च गर्न पाउँदैनन् ।

आर्थिक वर्ष सुरु भएको १ महिना वित्न लागिसकेको छ । असार मसान्तभित्रमा बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भएपनि केही स्थानीय तहहरुले अझै पनि बजेट पारित गरेका छैनन् । तोकिएको समयभित्र बजेट पारित नगर्नु भनेको कानुनको उल्लघन गर्नु हो । स्थानीय तह पनि सरकार नै हो । समयमै बजेट पारित नगर्नु भनेको सरकारले नै कानुन उल्लंघन गर्नु हो ।

यही सन्दर्भमा हामीले अझै पनि बजेट पारित नगरेका कोशी र मधेश प्रदेशका नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरुसँग ‘बजेट किन नल्याएको’ भनेर सोधका छौं । सभामा बजेट पेश गर्ने पहिलो जिम्मेवारी उपमेयर वा उपाध्यक्षको हुने भएकोले हामीले पहिलो प्रश्न उपमेयरसँग नै गरेका छौं ।

अझै पनि कोशी प्रदेश अन्तरगतको एउटा नगरपालिका र मधेश प्रदेश अन्तरगतको ११ नगरपालिकाले बजेट ल्याएका छैनन् । सामान्य प्रशासन मन्त्रालयले बजेट पेश नगरेका भनेर तोकेका नगरपालिकासँग हामीले किन बजेट नल्याएको भनेर उनीहरुको जवाफ सम्पादन गरेर उनीहरुकै शब्दमा राख्ने प्रयास गरेका छौं ।

म्याङलुङको दाबी– वडाबाट सिलिङ आएन

असार १० मा नै नीति कार्यक्रम पेश गर्यौं । बजेट ल्याउनको लागि वडाहरुबाट सिलिङ नै आएको थिएन । अब आयो । केही दिनभित्रमा नै बजेट ल्याउँछौं । 

– जमुनादेवी सुवेदी उपमेयर, म्याङलुङ नगरपालिका, तेह्रथुम ।

लालीगुराँसको बजेट मन्त्रीले नभ्याउँदा सर्यो

हामी असार १० मा नै बजेट ल्याउने तयारीमा थियौं । उद्घाटन शत्रमा मन्त्री आउने भन्ने कुरा थियो । उहाँलाई बोलाएका थियौं । तर, त्यो दिन उहाँ आउन भ्याउनु भएन । त्यसैले ढिला भयो । तर, हामीले असार २९ मा बजेट ल्याइसक्यौं ।

– अर्जुन माबोहाङ, मेयर लालीगुराँस नगरपालिका, तेह्रथुम ।

सुत्रले सतायो रामधुनी नगरपालिकालाई 

हामीले असार १० मा नै बजेट ल्याएका हौं । कुनै विवाद भएन । एकै दिनमा काम सकिएको थियो । तर, प्राविधिक कारणले सुत्र (प्रणाली) मा इन्ट्री गर्न समस्या भएपछि बजेट नल्याएको जस्तो देखिएको हो । 

– तारा थापा, उपमेयर, रामधुनी नगरपालिका सुनसरी ।

मेयर र उपमेयरको झगडा नै कञ्चनरुपको समस्या

असार ९ गते बैठक थियो । मेयरले असार १० गते सभा राखेर बजेट ल्याउने भन्नुभयो । मलाई राजस्वको, संघ र प्रदेशबाट आउने अनुदानबारे केही जानकारी दिइएको थिएन । मैले पहिला राजस्व समितिको बैठक राखौं, त्यसपछि बजेट ल्याउला भनेको थिएँ । तर, मेयर साबले असार १० गते सभा राखेर आफैले बजेट ल्याउन थाल्नुभएछ । मैले पछि यो कुरा थाहा पाएँ । अनि आएर सभा रोक्न लगाएँ । अहिले रावस्व समितिको बैठक हुँदैछ । अब भदौ २७ गते नगरसभा छ । त्यसैमा बजेट आउँछ ।

– मुनाकुमारी पोखरेल, उपमेयर कञ्चनरुप नगरपालिका, सप्तरी ।

आन्तरिक समस्या हो । उपमेयरले आफ्नो काम, कर्तव्य र अधिकार अनुसार चल्नुपर्छ । उहाँ त्यो गर्न तयार नहुनु भएकोले समस्या देखियो ।

– ललनप्रसाद गुप्ता, मेयर कञ्चनरुप नगरपालिका, सप्तरी ।

राजविराजका दुःख– मेयर निलम्बनमा, हाकिम चीनमा

हाम्रो मेयर भीमराज यादव ठेक्कापट्टाको काम पनि गर्नुहुन्थ्यो । कुनै ठेक्कामा अख्तियारले एक वर्ष अघि नै मुद्दा हाल्यो, अनि मेयर निलम्बनमा पर्नुभयो । प्रमुख प्रकाशकीय अधिकृत नगरपालिकालाई कुनै जानकारी नै नदिइ चीन भ्रमणमा गएछन् । त्यसैले बजेट ल्याउन सकिएन । सबै काम रोकिएको छ । भद्रगोल भएको छ । अब प्रमुख प्रशासकीय अधिकृत नेपाल आएका छन् रे । अब काठमाडौँ गएर उनी आए नआएको बुझ्छु । अनि बजेट ल्याउनु पर्नेछ । 

– इसरत परविन, उपमेयर, राजविराज नगरपालिका, सप्तरी ।

हनुमाननगर कंकालिनीमा दलीय विवाद

नगरसभा बोलाइयो । बजेट पारित भएन । प्रमुख प्रशासकीय अधिकृतसँग पनि जनप्रतिनिधिको कुरा मिलेन । त्यसैले नगरसभाबाट बजेट पारित भएन । 

– सरितादेवी यादव, उपमेयर हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी ।

नगरसभामा बजेट प्रस्तुत गरेर पारित गर्न मैले हरसम्भव प्रयास गरेको छु । नगरसभामा मेरो पार्टीको बहुमत छैन । नगरसभाले बजेट पारित नगरेको कारण समस्या भएको छ । (मेयर जनमत पार्टीको र नगरसभामा जसपाको बहुमत)

– बिरेन्द्र माझी, मेयर हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी ।

इन्ट्री गर्न विर्सिएछ सप्तकोशीमा

हामीले तोकिएकै समयमा बजेट पेश गरेको हो । नगरसभाले पारित गरेर पनि पठाएको हो । बजेट ल्याइसकेका छौं, पारित भएको छ, कुनै समस्या छैन । तर सामान्य प्रशासनको प्रणालीमा सो नगरपालिकाले बजेट नल्याएको देखिन्छ । कारण थाहा भएन ।

– कृष्णप्रसाद ढकाल, मेयर सप्तकोशी नगरपालिका, सप्तरी ।

सप्तकोशी नगरपालिकाले समयमै बजेट ल्याएको हो । बजेट ल्याएपछि सुत्रमा इन्ट्री गर्नुपर्ने हुन्छ । कर्मचारीले इन्ट्री गर्न विर्सिएछन्, त्यसैले बजेट नल्याए जस्तो देखियो । अब इन्ट्री भइहाल्छ ।

– राजकपुर चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत, सप्तकोशी नगरपालिका, सप्तरी ।

कारण थाहै भएन कल्याणपुरलाई

हामीले तोकिएकै समयमा नीति तथा कार्यक्रम ल्यायौं । तर, बजेट ल्याउन कहिले कर्मचारी भएनन्, कहिले के समस्या भयो । त्यसैले तोकिएको समयमा बजेट ल्याउन सकिएन । अब बजेट ल्याइसकेका छौं । केही दिनभित्रमा नै नगरसभा गरेर पारित गर्दैछौं । 

– रामपुकार साह, मेयर कल्याणपुर नगरपालिका सिरहा ।

कर्मचारी विरामी परेर हो : कर्जन्हा नगरपालिका

हामीले असार १० मा नै बजेट ल्याएका हौं । नगरसभाबाट पनि पारित भएको छ । तर, लेखाका कर्मचारी विरामी परेर गएछन् । लेखाले डिटेल डेटा नदिइ आइटीले प्रणालीमा इन्ट्री गर्न मिलेनछ । त्यसैकारण बजेट नआए जस्तो देखिएको हो । बजेट समयमै आएको छ ।

– लक्ष्मीकुमारी श्रेष्ठ यादव, उपमेयर कर्जन्हा नगरपालिका, सिरहा ।

धनुषाधामलाई ल्याए जस्तै लाग्छ

मैले असार ९ गते नीति कार्यक्रम पढेको हो । त्यसपछि मलाई कसैले पनि थप यो गर्नुपर्छ भनेर भनेको छैन । नगरसभा पनि बसेको छैन । नगरपालिकाको बैठक पनि बसेको छैन । थप कुरा मलाई केही पनि थाहा भएन ।

– विद्यादेवी भुजेल, उपमेयर धनुषाधाम नगरपालिका, धनुषा ।

मिथिलामा मारामारः मेयरको बजेटमाथि उपमेयरको मुद्दा

हामीले नियम अनुसार बजेट ल्यायौं । आएको बजेटप्रति उपमेयरकै असहमति रह्यो । नगरसभा आयोजना गर्यौं । त्यो सभामा केही साथीहरु अनुपस्थित हुनुहुन्थ्यो । अनुपस्थित भएका साथीहरुले अदालतमा मुद्दा हाल्नुभयो । अदालतले स्टे दिएर अहिले त्यसै रोकिएको अवस्था छ ।

– महेन्द्र महतो, मेयर मिथिला नगरपालिका धनुषा ।

कार्यपालिकाको बैठक नबोलाइकन मेयरसाबले नगरसभा बोलाउनु भयो । नगरसभाबाट बजेट बहुमतले पारित भयो । बजेट पारित भएपछि पनि नगर कार्यपालिकाको बैठक बोलाइएन । यो कार्य संविधान विपरित भयो भनेर म (उपमेयर) सहित कार्यपालिकाका बहुमत सदस्यले उच्च अदालत जनकपुरमा मुद्दा हालेका छौं । उच्च अदालत जनकपुरले बजेट कार्यान्वयन नगर्नु नगराउनु भनेर अन्तरिम आदेश दिएको अवस्था छ ।

– सुनितासिंह बुढाथोकी, उपमेयर मिथिला नगरपालिका, धनुषा ।

कमलामा मेयरले बोलाएनन् सभा

नगरसभाको प्रमुख मेयर हुने व्यवस्था छ । मेयरले नगरसभा बोलाउनु पर्यो । मैले प्रमुख प्रशासकीय अधिकृतलाई लिएर पनि मेयरकोमा गएँ । नगरसभा बोलाउँ भनेँ । हाम्रो नगरपालिकाभित्र ९ वडा छन् । सबै वडाध्यक्षहरु नगरसभा बोलाएर बजेट छिटो ल्याउँ भन्छन् । तर मेयरले चासै दिनुभएको छैन । मेयर र प्रमुख प्रशसकीय अधिकृतको बीचमा के समस्या हो भन्ने हामीलाई थाहा भएन । तर, समयमै बजेट नल्याएर हाम्रो नगरपालिकालाई पछाडि पार्ने काम भयो ।

– शिलादेवी मण्डल, उपमेयर कमला नगरपालिका धनुषा ।

असार १० गते नै हामीले नीति कार्यक्रम पेश गर्यौं । बजेट पारित गर्न नगरसभा आयोजना गर्नुपर्छ । त्यसको सदस्यसचिव प्रमुख प्रशासकीय अधिकृत हुन्छ । प्रमुख प्रशासकीय अधिकृतको के समस्या हो भन्ने थाहा पाउनै सकिएन । उहाँ काठमाडौँ गएको गयै गर्नुहुन्छ । मलाई कुनै जानकारी नै दिनुहुन्न । प्रमुख प्रशासकीय अधिकृतको असहयोगको कारण नगरसभा आयोजना गर्न नै सकिएन ।

– विशेश्वर यादव, मेयर कमला नगरपालिका धनुषा ।

असार ९ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरेर बजेटको प्रक्रिया सुरु गरेका हौं । बजेटका सिलिङ लगायत आन्तरिक तयारीका केही कामहरु बाँकी छन् । मेयरसाबबाट निर्देशन आएको २ दिनभित्रमा कर्मचारीको तर्फबाट पूरा गर्नुपर्ने कामहरु पूरा गरिसक्छौं । प्रमुख प्रशासकीय अधिकृत वा कर्मचारीले बजेट निर्माण वा कार्यान्वयनमा असहयोग गर्ने भन्ने विषय हुदैहुदैन ।

– ओमप्रकाश महतो, प्रमुख प्रशासकीय अधिकृत कमला नगरपालिका, धनुषा ।

मलंगवाको बजेट वेबसाइटमा छ

मेयरसाब तिर्थयात्राको लागि भारत जानु भएको छ । उपमेयर पनि भारत जानु भएको छ । हाम्रो नगरपालिकाले पहिला नै बजेट ल्याएको हो । नगरसभाबाट पारित पनि भइसकेको छ । हामीले ल्याएको बजेट नगरपालिकाको वेबसाइटमा पनि राखिएको छ । बजेट पेश नभएको भनेर किन लेखियो भन्ने मलाई केही थाहा भएन । भोलि नगरपालिका गएर सबै बुझ्छु । बजेट त आइसकेको छ ।

– नवलकिशोर राय, प्रवक्ता मलंगवा नगरपालिका, सर्लाही ।

बलराको दाबीः इन्ट्री नभएको मात्रै हो

हामीले बजेट ल्याइसकेका छौं । नगरसभाबाट पारित पनि भइसकेको छ । नीति तथा कार्यक्रम र बजेट अपलोड गर्नुपर्ने थियो । केही कारणबस इन्ट्री हुन सकेको थिएन । अहिले हामी सबै इन्ट्री गर्न लगाउँदैछौं ।

– रामाशंकर प्रसाद कुशवाहा, मेयर बलरा नगरपालिका, सर्लाही ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update