Odapalika - The Fourth Estate - चौथो अंग
४४ सार्वजनिक संस्थानः २६ कम्पनीले नाफा कमाउँदा १५ घाटामा, ३ कम्पनीको शून्य कारोबार

काठमाडौँ । नेपालमा सञ्चालित ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थानले नाफा आर्जन गर्न सफल भएको पाइएको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार २६ वटा सार्वजनिक संस्थान नाफामा जाँदा १५ वटा संस्थान नोक्सानीमा देखिएका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा नाफामा गएका सार्वजनिक संस्थानको नाफा ४८ अर्ब ५१ करोड रुपैयाँ रहेको देखिन्छ । विगतको तुलनामा यस वर्ष संस्थानहरूको नाफामा सुधार देखिएको छ । आर्थिक वर्ष २०७८/७९को तुलनामा सार्वजनिक संस्थानको कुल नाफा ३०४६ प्रतिशतले बढेको हो । 

आर्थिक वर्ष २०७८/७९ मा संस्थानको कुल सञ्चालन आय ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९÷८० मा १४.८७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १ करोड २९ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा अस्तित्वमा रहेकामध्ये २६ वटा संस्थानले नाफा आर्जन गरेका छन् भने १५ वटा संस्थान घाटामा रहेका छन् । 

३ वटा संस्थानको कारोबार शून्य रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा ३०४६.२० प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९÷८० मा ४८ अर्ब ५१ करोड ७५ रुपैयाँ भएको छ । 

यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आ.व.२०७८/७९ मा ३८ अर्ब १७ करोड ७८ लाख घाटा रहेकोमा आ.व. २०७९/८० मा ११ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नाफामा रहनु मुख्य कारण हो । 

आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा ९८१.४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी २.८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३।७९ प्रतिशतले बढेको उल्लेख छ । 

हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको संख्या ४४ पुगेको छ । जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५ जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान अस्तित्वमा रहेका छन् । 

स्वामित्वका आधारमा हेर्दा २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् । 

२०८० असार मसान्तसम्म कायम रहेका ४४ संस्थान मध्ये कम्पनी ऐन बमोजिम स्थापना भएका ३३ वटा, विशेष ऐन बमोजिम स्थापना भएका ७ वटा, सञ्चार संस्थान ऐन बमोजिम स्थापना भएका २ वटा, सहकारी ऐन बमोजिम स्थापना भएका १ वटा र संस्थान ऐन बमोजिम स्थापना भएको १ वटा संस्थान रहेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update