Odapalika - The Fourth Estate - चौथो अंग
कागखोलामा बाढी आउँदा कागबेनीका ४० घरमा क्षति (फोटोसहित)

काठमाडौँ । मुस्ताङको कागखोलामा आएको बाढीले कागबेनीका करिब ४० घरमा क्षति पुगेको छ । आइतबार साँझदेखि कागखोलामा लेदोसहितको बाढी आएपनि पूर्वसुचना पाएकोले मानवीय क्षति भने भएन ।

बाढी आउने पूर्वसुचना पाएकोले सो स्थानका बासिन्दा सुरक्षित ठाउँमा सरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए । 

kagbeni badhi21691988360.jpg

‘अहिलेसम्म ३५ देखि ४० घर पूर्णक्षति भएको जानकारी प्राप्त भएको छ । विद्युत सुचारु गर्ने प्रयास गरिरहेका छौं । सर्वदलीय बैठक बसेर तत्काल गर्नुपर्ने कामहरु गरिहाल्ने तयारी भइरहेको छ,’ प्रवक्ता गुरुङले वडापालिकासँग भने ।

पूर्वसुचना पाएकोले मानवीय क्षति भने नभएको र पशु चौपाया भने बाढीले बगाएको उनले जानकारी दिए । बाढीले क्षति पुगेका घरका बासिन्दा भने आफन्तको घरमा बसेका छन् ।

kagbeni badhi31691988355.jpg

‘पूर्वसुचना पाएकोले मानिसहरु भने सुरक्षित ठाउँमा रहेका आफन्तको घरमा छन्, पशु चौपाया भने बाढीले बगायो । यहाँ काम गर्न आएका कामदारलाई खाने र बस्ने व्यवस्था मिलाउन पहल गरिरहेका छौं,’ प्रवक्ता गुरुङले भने ।

kagbeni badhi11691988354.jpg

सो क्षेत्रमा शनिबार रातिदेखि नै पानी परेको थियो । पानी परेपछि आएको गेग्रानसहितको बाढीले इलाका प्रहरी कार्यालय कागखोलाको भवन र विभिन्न संस्थाका भवन लगायत सार्वजनिक सम्पदा पनि बगाएको छ ।

जोमसोम–कोरला सडक खण्डमा पर्ने निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन  विद्युतका पोल बगाएको छ । पक्की पुल बगाउँदा  अपर मुस्ताङसँगको सम्पर्क टुटेको छ । 

kagbeni badhi1691988353.jpg

‘वडा नम्बर २ र ३ को सम्पर्क टुटेको छ । अस्थायी संरचना बनाएर सम्पर्क स्थापित गर्न नेपाली सेनाले पहल थालेको छ,’ प्रवक्ता गुरुङले भने ।

तस्वीरः बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङ

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update