Odapalika - The Fourth Estate - चौथो अंग
बुढानीलकण्ठका मेयर सहित ३ वडाअध्यक्षलाई तत्काल पक्राउ गर्न अदालतको आदेश, १ महिना कैद

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बुढालीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी सहित तीन जना वडाअध्यक्षलाई एक महिना कैदको फैसला सुनाएको छ । 

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आइतबारको इजलासले मेयर अधिकारी सहित वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडाअध्यक्ष चन्द्रमान श्रेष्ठलाई अदालतको अवहेलना गरेको भन्दै १ महिना कैदको फैसला सुनाएको हो । 

उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार जनही १ महिना कैद सजाय तोकिएको अदालतको आदेशमा उल्लेख छ । सो कैद लगत कसी प्रहरी मार्फत पक्राउ गरी असुल उपर गर्नुपर्ने आदेशमा उल्लेख छ । 

‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’ आदेशमा भनिएको छ ।

तर ६० दिनभित्र पनि संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाइदिन र लागेको खर्च बुढानीलकण्ठ नगरपालिकाबाट असुल गर्न पनि आदेश दिइएको छ ।

यसअघि २०८० मंसिर १७ गते एउटा जग्गा विवादमा नगरपालिकाको विपक्षमा फैसला सुनाएको थियो । उक्त जग्गा १०० दिनभित्र व्यक्तिलाई उपयोग गर्न दिनू भनी अदालतले गरेको फैसला नगरपालिकाका मेयर र तीन वडाध्यक्षले अटेर गरेको भन्दै चन्द्रबहादुर थापाले पुन निवेदन दिएका थिए । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले गत ११ जेठमा आदेश सुनाएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update