Odapalika - The Fourth Estate - चौथो अंग
जिफोरएस माथि कामदारकाे १ करोड ६६ लाख हिनमिना गरेकाे आरोप, राजस्व पनि छलियाे

काठमाडौँ ।  कामदार आपूर्ति गर्ने बहुराष्ट्रिय कम्पनी जिफोरएसले सामाजिक सुरक्षा कोषको लागि भनेर कामदारबाट उठाएको रकम कोषमा जम्मा नगरी हिनामिना गरेको आरोप लागेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भन्दै कामदार तथा कर्मचारीबाट उठाएको २ करोड ३० लाख ६४ हजार रुपैयाँ कोषमा जम्मा नगरी हिनामिना गरेको आरोप लगोको हो ।

कम्पनीको बेव साइटमा उल्लेख भएअनुसार जिफोरएस कम्पनी अमेरिका बेस्ड बहुराष्ट्रिय कम्पनी हो । यो कम्पनी विश्वका ९० भन्दा बढी मुलुकमा संचालित छ । यसको वार्षिक कारोबार २० अर्ब अमेरिकी डलरभन्दा बढी छ । जिफोरएस कम्पनीको माउ कम्पनी एलाइड युनिर्भसल हो । यसको हेडक्वाटर अमेरिकामा छ ।

जिफोरएस कम्पनी शतप्रतिशत विदेशी लगानी भएको कम्पनी हो । यो कम्पनी नेपालमा सन् १९९६ मा स्थापना भएको हो । कम्पनीले नेपालमा पनि सेक्युरिटी गार्ड आपूर्ति गर्ने गर्छ ।

जिफोरएस कम्पनीले उसका २ हजारभन्दा बढी सेक्युरिटी गार्डको १ करोड ६६ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सामाजिक सुरक्षा कोषका लागि भनेर कर्मचारीबाट कटाएको रकम हिनामिना गरेको हो ।

सो आर्थिक वर्षमा कम्पनीले ५९ करोड ४४ लाख ४५ हजार रुपैयाँ कर्मचारीको तलबमा खर्च गरेको विवरण कर कार्यालयमा बुझाएको छ । कम्पनीले सो परिमाणको रकम कर्मचारीको तलबमा खर्च गरेकोले सामाजिक सुरक्षा कोषमा ८ करोड १० लाख २२ हजार रुपैयाँ जम्मा गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ । तर, कम्पनीले भने जम्मा ५ करोड ७९ लाख ५८ हजार रुपैयाँ मात्रै जम्मा गरेको छ ।

कोषमा जम्मा गर्नुपर्ने रकमको २ करोड ३० लाख ६४ हजार रुपैयाँ कम जम्मा गरेको र यसमध्ये ६३ लाख ८८ हजार रुपैयाँ भने कोषलाई तिर्न बाँकी भनेर कम्पनीको वित्तीय विवरणमा देखाइएको छ । बाँकी १ करोड ६६ लाख ७६ हजार रुपैयाँको हिसाव भने छैन ।

‘कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सामाजिक सुरक्षा कोषमा बुझाउनु पर्ने रकमको २ करोड ३० लाख ६४ हजार रुपैयाँ कम बुझाएको देखियो । यसमध्ये ६३ लाख ८८ हजार रुपैयाँ कोषलाई तिर्न बाँकी छ भनेर वित्तीय विवरणमा उल्लेख छ । बाँकी १ करोड ६६ लाख ७६ हजार रुपैयाँको हिसाव छैन । कर्मचारीबाट रकम कटाएको र कोषमा नबुझाएको हो कि होइन भनेर हामीले हेर्ने विषय भएन । हामीले त कर्मचारीको लागि सामाजिक सुरक्षा कोषमा जम्मा गरेको भनिएको रकम कोषमा जम्मा नभएकोले त्यसलाई आम्दानी मानेर आयकर लिनुपर्छ भन्ने हो,’ महालेखा परीक्षकको कार्यालय स्रोतले वडापालिकासँग भन्यो ।

जिफोरएस कम्पनी २०७५ साल फागुन ६ गते सामाजिक सुरक्षा कोषमा आवद्ध भएको थियो । कम्पनीले २०७७ मंसिर ३० गतेदेखि कोषमा रकम बुझाउन थालेको हो । कम्पनीले आर्थिक वर्ष ३०७८/७९ मा ६१ करोड २० लाख ७५ हजार रुपैयाँ कर्मचारी तलब शीर्षकमा खर्च गरेको छ भने कर्मचारीको लागि सामाजिक सुरक्षा कोषमा सो आर्थिक वर्षमा ८ करोड ३४ लाख २६ हजार रुपैयाँ जम्मा गरेको छ । सो आर्थिक वर्षमा कम्पनीले कर्मचारी खर्चको १३.७१ प्रतिशत रकम कोषमा जम्मा गरेको छ ।

राजस्व गोलमाल

कम्पनीले सामाजिक सुरक्षा कोषमा कर्मचारीको योगदान रकम जम्मा गर्ने भनेर जम्मा नगरिदिदा एकातिर कर्मचारीमाथि अन्याय भएको देखिन्छ भने अर्काेतिर राजस्व पनि गोलमाल भएको छ । पहिलो कुरा त कम्पनीले सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने भनेको १ करोड ६६ लाख ७६ हजार रुपैयाँ कोषमा नबुझाई आफ्नो आम्दानी लुकाएर कर विवरण राजस्व कार्यालयलाई बुझाएको छ । 

दोस्रो, कम्पनीको कर्मचारी खर्चको विवरण नै अब नमिल्ने देखिन्छ । किनभने सामाजिक सुरक्षा कोषमा आवद्ध भएका कामदार कर्मचारीले १ प्रतिशत सामाजिक सुरक्षा कर तिर्नु पर्दैन । कोषमा आवद्ध नभएका कर्मचारीले भने सो १ प्रतिशत रकम कर राज्यलाई तिर्नुपर्छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा सामाजिक सुरक्षा कोषमा जम्मा गरेको रकम कुल कर्मचारी खर्चको १३.७१ प्रतिशत देखिन्छ । यही कम्पनीले कर्मचारीको लागि सामाजिक सुरक्षा कोषमा बुझाउने भनेर नबुझाएको १ करोड ६६ लाख ७६ हजार रुपैयाँलाई १३.७१ प्रतिशत मान्ने हो भने उसको कर्मचारी तलब खर्चको १२ करोड १६ लाख रुपैयाँको सामाजिक सुरक्षा कर पनि लिनुपर्ने हुन्छ । महालेखाले यस्तो करका विषयमा केही बोलेको छैन ।

यस्तै, महालेखाका अनुसार जिफोरएस कम्पनीले कर्मचारी तलब खर्चको १३.७१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरियो भनेको छ । तर, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा कर्मचारी तथा कामदारको आधारभूत तलबको ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । यो ३१ प्रतिशतमा २० प्रतिशत रकम रोजगारदाताले दिनुपर्छ भने ११ प्रतिशत रकम कामदार कर्मचारीको तलबबाट कट्टा गरेर रोजगारदाताले जम्मा गरिदिनुपर्छ । त्यसैले जिफोरएस कम्पनीले कोषमा जम्मा गर्ने भनेको रकम जम्मा नगरपछि कर्मचारी ठगेकोदेखि राजस्व छलि गरेकोसम्म देखिन्छ ।

यस विषयमा प्रतिक्रिया लिनको लागि हामीले कम्पनीका म्यानेजिङ डाइरेक्टर महेश श्रेष्ठसँग सम्पर्क गर्ने प्रयास गरेका थियौं । तर, उनका स्वकीय सचिवले उनी अफिस बाहिर मिटिङमा गएकोले सम्पर्क हुन नसक्ने बताइन् ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update