Odapalika - The Fourth Estate - चौथो अंग
बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै, योजना आयोगले दिएको सिलिङ नाघेर बजेट आउँने

काठमाडौँ । बजेट ल्याउनुअघि मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । 

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदमा प्रस्तुत गर्दै छ । संसद्मा प्रस्तुत गरिने बजेट स्वीकृतिको लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको हो ।

आज दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

चालु आर्थिक वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । आम्दानी र खर्च गर्ने क्षमता वृद्धिको सुनिश्चितताबिनै सरकारले राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमामा करिब डेढ खर्ब रुपैयाँ बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको जनाईएको छ । 

आज आर्थिक वर्ष २०८१८२ बजेट आउँदै

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र सङ्घीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकम खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने उल्लेख छ । 

यसरी वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने व्यवस्था छ । 

राजस्व र व्ययको अनुमान प्रत्येक जेठ महिनाको १५ गते सङ्घीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update