Odapalika - The Fourth Estate - चौथो अंग
बजेटः कर्मचारीको तलब नबढ्ने, सय वर्ष नाघेकालाई दोब्बर भत्ता, उमेर सीमा ७० बनाइने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

योजना आयोगले दिएको बजेट सीमा बढाएर अर्थमन्त्री पुनले १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार सरकारले राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमा बढाउन लागेको हो ।

चालु आर्थिक वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । 

बजेटमा अर्थमन्त्री पुनले कर्मचारीको तलब भत्ता नबढाउने भएका छन् । कर्मचारीको तलब भत्ता नबढाई उनले विवादित हुँदै आएको संसद विकाश कोषका लागि पुन बजेट राख्ने तयारी गरेका छन् । 

चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले समेत बजेट विनियोजन गरेका थिए । त्यसलाई निरन्तरता दिदैँ अर्थमन्त्री पुनले निर्वाचन क्षेत्र विकास कोषका नाममा प्रतिसांसद् १० करोड रुपैयाँ बाँड्न पाउने अधिकार दिन लागेको पाइएको छ । 

यस्तै, अर्थमन्त्रालय स्रोतका अनुसार वृद्धाभत्ता पाउने उमेर सीमा बढाएर ७० वर्ष बनाउनन लागिएको छ । तत्कालीन अर्थमन्त्री जनादर्न शर्माले ७० बाट घटाएर ६८ बनाएको उमेरहद पुनले पुन ७० वर्ष बनाउन लागेका हुन् । 

यस्तै, पुनले सय वर्ष उमेर पुगेकाहरूलाई वृद्धाभत्ता दोब्बर बनाउन लागेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update