Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माणमा कस्ता कार्यक्रम र कति बजेट आयो ?

काठमाडौँ । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री पुनले दिएको जानकारी अनुसार स्थानीय तहमा संचालन हुने सानातिना काममा पनि संघीय सरकार सहभागी हुने भएको छ । स्थानीय तहले नै बनाउन सक्ने झोलुङ्गे पुल निर्माण तथा स्थानीय स्तरका नवप्रद्र्धन कार्यक्रममा पनि संघले आफ्नो सहभागिता खोजेको हो ।

अर्थमन्त्री पुनले पक्की सडक संजालबाट नजोडिएका स्थानीय तहको केन्द्रलाई प्रदेश केन्द्र वा राष्ट्रिय राजमार्गसँग जोड्ने गरी प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम संचालन गरिने जानकारी दिए । यस कार्यक्रमका लागि संघीय सरकारले ७ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारले स्थानीय तहको प्रशासकीय भवन निर्माणका लागि बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री पुनले स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार १ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

संघीय सरकारले ग्रामीण स्तरमा बैकल्पिक सहायक राजमार्ग पनि बनाउने भएको छ । ग्रामीण स्तरका बैंकल्पिक सहायक राजमार्ग निर्माणका लागि संघीय सरकारले ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारले झोलुङ्गे पुल निर्माणमा पनि आफूलाई संलग्न गराउने भएको छ । अर्थमन्त्री पुनले दिएको जानकारी अनुसार संघ प्रदेश र स्थानीय तहको लागत साझेदारीमा आधाघण्टाको हिडाइ दुरीभित्र तरितराउको सुविधा पुर्याउन झोलुङ्गे पुल बनाइने छ । यसका लागि सरकारले ३ अर्ब ४० करोड बजेट विनियोजन गरेको छ ।

यस्तै, स्थानीय सडक पुल निर्माणका लागि ८ अर्ब २७ करोड विनियोजन गरिएको उनले जानकारी दिए । संघीय सरकारले नवप्रवद्र्धनमा आधिारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update