Odapalika - The Fourth Estate - चौथो अंग
छिन्नमस्ताका शिक्षकको तलब अब सिधै बैंक खातामा

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले शिक्षकहरुले तलबभत्ता मासिक रुपमा सिधै बैंक खातामा पठाएको छ । 

पालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयमा रहेका १ सय ६७ जना शिक्षक तथा कर्मचारीको तलबभत्ता सिधै बैंक खातामा पठाउन सुरु गरिएको पालिकाले जनाएको छ । 

पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बुधबारदेखि शिक्षक कर्मचारीको सेवासुविधा सिधै सम्बन्धीत व्यक्तिको बैंक खातामा राख्न सुरु गरिएको बताए । उनले यसअघि सामुदायिक विद्यालयको बैंक खातामा रकम जम्मा गर्ने गरिएकोमा बुधबारदेखि सिधै सम्बन्धीत शिक्षक कर्मचारीको खातामा हाल्न सुरु गरिएको जानकारी दिए । 

‘इलेक्ट्रोकिन फन्ड ट्रान्सर्फर (इफटी) मार्फत पालिकाको खाताबाट सिधै सम्बन्धीत शिक्षकहरुको खातामा मासिक रुपमा सिधै रकमान्तर गर्ने माध्यम नै इफटी हो । सम्भवत मधेश प्रदेशकै पहिलो पालिकाका रुपमा छिन्नमस्ता गाउँपालिकाले यो कार्य गरेको हो’, उनले भने । 

उनले पहिलो चरणमा बुधबार सखडा, छिन्नमस्ता भुपेन्द्र संस्कृति मा.बि.को सम्पुर्ण शिक्षक तथा स्टाफहरुको मासिक सेवासुविधा इफटी माध्यमबाट भुक्तानी गरिएको बताए । बुधबार २ सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको रकम भुक्तानी गरिएको भन्दै सबै विद्यालयका शिक्षकहरुको सेवासुविधा मासिक रुपमा खातामा सिधै पठाईने जानकारी दिए । 

पालिकाको उक्त निर्णयपश्चात ३/३ महिनामा सेवासुविधा पाउँदै आएका शिक्षकहरुले अब मासिक रुपमा आफ्नै बैंक खातामा तलब पाउन बाटो खुलेको हो । 

पालिकाको अध्यक्षमा चौधरी निर्वाचित हुनुअघि वर्षाेदेखि पालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरुले सेवासुविधा पाएका थिएनन् । अध्यक्ष निर्वाचित भएको १५ दिनभित्रमै निर्णय गरेर शिक्षक बाहेक अन्य कर्मचारी सबैको सेवासुविधा भुक्तानी गरेका चौधरीले शिक्षकहरुलाई समेत मासिक रुपमा तलब पाउने व्यवस्था गरेका हुन् । 

‘म निर्वाचित भएर आउँदा शिक्षक तथा कर्मचारीहरुले लामो समयदेखि तलब नै पाउनु भएको रहेनछ । मैले निर्वाचित भएको १५ दिनमै सबै कर्मचारीको सेवासुविधा भुक्तानी गरेर मासिक रुपमा वितरण गर्दै आएको थिए । अब अन्य कर्मचारी सरह शिक्षकहरुको पनि मासिक रुपमा सम्बन्धीत बैंक खातामै भुक्तानीको सुरुवात गरिसकेको छु’, उनले भने, ‘३/३ महिनामा तलबभत्ता आउँदा उहाँहरुको दैनिकी असहज भएको मैले पाएको थिए । अब उहाँहरुलाई केही हदसम्म सहज हुने अपेक्षा छ ।’

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update