Odapalika - The Fourth Estate - चौथो अंग
असल बुहारीले खाए सम्मान, उमेर पुगेर विहे गर्नेलाई  मदानेको हौसला 

काठमाडौँ । गुल्मीको मदाने गाउँपालिका–१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई वडा कार्यालयले सम्मान गरेको छ । 

शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका तीन जोडी नवविवाहित दम्पतीलाई वडा कार्यलयले सम्मान गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।

‘विवाहबारी–२० वर्ष पारी’ भन्ने मूल उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न वडा कार्यालयले उक्त कार्यक्रम गरेको उनले बताए । 

वडाले असल बुहारी तथा छोरीलाई पनि सम्मान गरेको छ । वैदेशिक रोजगारीमा छोराहरु जाने तथा बुहारीहरु छोराछोरी पढाउन सहर पस्ने चलन बढेको छ । बुहारीहरु सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु मात्रै हुन थालेकाले वृद्ध बुबाआमाले दुःख पाएको अवस्थामा सासूससुरा तथा बुबाआमासँगै रहेर पालनपोषण गरेका बुहारी तथा छोरीहरुलाई वडाले सम्मान गरेको हो । 

शैक्षिक उत्प्रेरणा कार्यक्रममार्फत १० जना असल बुहारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । 

वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सङ्घसंस्थालाई समेत सम्मान गरेको छ ।      

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update