Odapalika - The Fourth Estate - चौथो अंग
६ वटा संसदीय समिति बैठक बस्दै, कसको के एजेण्डा ? 

काठमाडौँ । संघीय संसद्अन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्दैछ।  सिंहदरबारभित्र समितिका आ– आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको चारवटा प्रतिनिधिसभा अन्र्तगतका समिति र दुई वटा राष्ट्रियसभाअन्र्तगतका समिति बैठकमा विभिन्न विषयमा छलफल हुँदै छ । 

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा साह्रौँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ । 

सोही बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

यस्तै प्रतिनिधिकै,बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि आव्हान गरिएको छ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि  छलफल गर्ने तयारी समितिको छ । 

सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ। तर बैठकको कार्यसूची भने सचिवालयले सार्वजनिक गरेको छैन ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजेका लागि डाकिएको  छ। बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा एसिड आक्रमण पीडितको क्षतिपूर्ति सम्बन्धमा समितिमा छलफल गर्ने तयारी छ । 

यसैगरी, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्ने छ । 

बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update