Odapalika - The Fourth Estate - चौथो अंग
जनप्रतिनिधिको गुनासोः सरकारले कर्मचारी पठाएन, करारका राख्दा अख्तियार र अदालतको हैरानी

काठमाडौँ । लुम्बिनी प्रदेशका स्थानीय तहबीच पदपूर्ति र जनशक्ति व्यवस्थापनका सम्बन्धमा छलफल भएको छ । 

लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोगले आवश्यक जनशक्ति माग गर्दा पनि परिपूर्ति गर्न नसकेकोमा असन्तुष्टि प्रकट गरे । 

उनीहरुले स्थानीय तहहरुमा कर्मचारी अभावका कारण वडाहरुमा वडा सचिवहरु राख्न नसकेको, लेखा अधिकृत नहुँदा निमित्तबाट काम चलाउनुपरेको र आएका कर्मचारीहरु अध्ययन बिदामा बस्दा काममा समस्या आएको गुनासो राखेका थिए ।

अधिकांश पहाडी क्षेत्रका स्थानीय तहका प्रमुख, अध्यक्षहरुले पहाडी क्षेत्रमा कर्मचारी बस्न नचाहने भएकाले विकासका काम रोकिने गरेको बताए । उनीहरुले संघ र प्रदेशका लोकसेवाले कर्मचारी नपठाउने र करारमा कर्मचारी राखेर काम गर्दा अख्तियार र अदालतले हैरान गर्ने गरेको बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्रा डिलाराम भट्टराईले स्थानीय तहहरुले माग गरेअनुसार कर्मचारी पठाउन कानुनी जटिलता देखिएको बताए ।

उनले प्रदेश सरकारले स्थानीय कर्मचारीसम्बन्धि ऐन ल्याएपछि कर्मचारीको माग पूर्ति हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव महादेव पन्थले प्रदेशले कर्मचारी ऐन कार्यान्वयनका चरणमा रहेको र स्थानीय सेवाको पनि छिटै नै पारित भएर कार्यान्वयनमा आएपछि समस्या समाधान हुने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्थानीय तहमा जिल्ला विकास समिति, महिला बालबालिका कार्यालय र त्यस्तै धेरै प्रकारका कर्मचारी रहेकोले सबैलाई न्याय हुने गरी व्यवस्थापन गर्नुपर्ने बताए । उनले लोकसेवाले स्थानीय तहहरुलाई दक्ष जनशक्ति उपलब्ध गराउन थप तदारुकता देखाउनुपर्ने बताए ।

लोकसेवा आयोगका सदस्यहरु बाबुराम गौतम र डिम्पल गुरुङले लोकसेवा आयोगले स्थानीय तहहरुको आवश्यकताअनुसार पदपूर्ति गर्ने गरी तयारी गरिरहेको र त्यसैअनुसार छलफल गरेको बताएका थिए ।

कार्यक्रममा रुपन्देही, कपिलवस्तु, दाङ, गुल्मी, रोल्पा, नवलपरासी पश्चिमसहितका जिल्लाहरुबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितका सहभागी थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update