Odapalika - The Fourth Estate - चौथो अंग
जुत्ता बनाइरहेका बेनीका आमाहरू

म्याग्दी ।  बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन् । 

पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने विशेष तालिम दिएपछि महिलाले व्यावसायिक चप्पल उत्पादन सुरु गरेको समूहका उपाध्यक्ष विन्दु कार्कीले बताइन् । उनकाअनुसार आमा समूहकै भवनमा महिलाले चप्पल उत्पादन गर्न थालेका छन् ।

बजारमा बाहिरबाट आयात गरेका चप्पलको खरिद बिक्री हँुदै आएकामा आमा समूहले नै व्यावसायिकरूपमा चप्पल उत्पादन सुरु गरेपछि स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउने योजना रहेको समूहका सचिव निसा जिसीले जानकारी दिइन् ।

फेन्सी चप्पलको माग बढी हुने भएकाले व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको चप्पल बनाउने व्यवसायबाट महिलाको आयआर्जनमा समेत टेवा पुग्ने उनीहरु बताउँछन् ।

महिलाले फेन्सी चप्पल सामूहिकरूपमा बनाउन सुरु गरेको उद्योगको सोमबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभारम्भ गरे । कार्यक्रममा प्रजिअ पौडेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र वडाध्यक्ष चक्रबहादुर केसीले स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउन सकेमा यसले महिलाको उद्यमशीलताको प्रवद्र्धन गर्नेमा जोड दिए ।

गलेश्वर मन्दिर परिसरमा राखिएको घुम्ती प्रदर्शनी कक्षबाट ५९ जोर चप्पल बिक्रीसमेत भएको समूहले जनाएको छ । सो समूहले उत्पादन गरेका चप्पलको गलेश्वरमा बिक्रीकक्षसमेत सञ्चालन गर्ने योजना बनाएको समूहका अध्यक्ष फूलकुमारी रोकाले जानकारी दिइन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update