Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रिपरिषद बैठकका निर्णयः सन्दीप लामिछानेको भिसामा कुटनीतिक प्रयासदेखि अनुमति नभएका हतियार बोक्न रोकसम्म

काठमाडौँ । सरकारले सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । 

बिहीबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा यस्तो निर्णय गरेको जानकारी दिइन् । 

त्यस्तै, सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर बुढामगरलाई न्याय परिषद् सदस्य र भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रार नियुक्त गर्ने निर्णय समेत गरेको छ । 

उनले भनिन्, ‘नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषद् सदस्य र रजिष्ट्रार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ ।’

त्यस्तै, सरकारले कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाएको छ । 

यसका साथै राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण स्वीकृत गर्ने, वन ऐनको दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने र तिलगंगा आखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

उनले भनिन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र त्यसपछि संघीय गणतन्त्र जर्मनीको भ्रमणको कार्यक्रम पनि रहेको हुनाले, भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ । वन दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गरिएको छ र तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय भएको छ ।’ 

त्यस्तै, मन्त्री शर्माले सरकारको तर्फबाट सम्पूर्ण कुटनीतिक प्रयास गरेको भएपनि क्रिकेटर सन्दीप लापमछानेलाई भिसा नदिएको बताइन् । 

उनले भनिन,‘टी–२० विश्वकप क्रिकेटमा सहभागिता हुनको निम्ती भिसा प्रक्रियाका लागि सरकारले कुटनीतिक पहल गरेको भएपनि सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन । भिसा दिनु न दिनु उसको देशको कुरा हो । अब भिसा किन दिएन ? के गरेन ? भन्ने विषयमा हामीले उत्तर दिइराख्नु आवश्यक छ भन्ने मलाई लाग्दैन । यो सम्बन्धित देशकै विषय हो । यो विषयमा आवश्यक छलफल भइरहेको छ । हेरौं के हुन्छ ?’

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update