Odapalika - The Fourth Estate - चौथो अंग
वडा सचिवलाई १० हजारसम्म अतिरिक्त भत्ता

म्याग्दी । बेनी नगरपालिकाले वडामा कार्यरत सचिव र प्राविधिक जनशक्तिको मनोवल उच्च राख्न भन्दै मासिक १० हजार रुपैयाँसम्म अतिरिक्त भत्ता उपलव्ध गराउने भएको छ । 

नगर कार्यपालिकाको पछिल्लो पटक बसेको बैठकले वडा सचिव र वडामा कार्यरत प्राविधिकहरुको मनोवल उच्च बनाउने भन्दै ५ हजार ५०० देखि १० हजार रुपैयाँसम्म प्रोत्साहन रकम उपलव्ध गराउने निर्णय गरेको हो । 

यसअघि नगरपालिकाले यी कर्मचारीलाई दैनिक भ्रमण भत्ता शीर्षकमा तलवका अतिरिक्त सुविधा दिदै आएको थियो । 

नगरको निर्णयअनुसार अब वडा नम्बर ७ र ८ मा कार्यरत सचिव र कर्मचारीले मासिक ५ हजार ५०० रुपैयाँ अतिरिक्त भत्ता पाउने छन् । त्यसैगरी वडा नम्बर १, ४ र ६ काले मासिक ७ हजार र वडा २, ५ तथा ९ का सचिव र प्राविधिकले  ८ हजार ५०० रुपैयाँ भत्ता पाउने छन् । 

अति दुर्गम भएको भन्दै वडा नम्बर ३ र १० का वडा सचिव र प्राविधिकलाई भने मासिक १० हजार रुपैयाँ प्रोत्साहन रकम उपलव्ध गराउने निर्णय भएको मेयर सुरत केसीले बताए । 

२० कर्मचारीलाई पर्यटन काज बिदा 

नगरपालिकाले आफ्ना कर्मचारीलाई प्रोत्साहन रकमसहित बार्षिक २० दिन काज विदा दिने भएको छ । 

नगर कार्यपालिका बैठकबाट निर्णय गराएर पालिकाले हरेक वर्ष २० जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलव्ध गराएर २० दिनको काज विदा दिने भएकाे हो । पर्यटन प्रर्वद्धनका लागि भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको मेयर केसी बताउँछन् । 

कार्यालयको काममा असर नपर्ने गरी विभिन्न चरणमा चालु आर्थिक वर्षभित्रमा २० जनाले नगरले उपलव्ध गराएको रकमसमेत लिएर २० जना कर्मचारी अब काज विदा लिएर घुम्न जान पाउने मेयर केसीको भनाइ छ । 

नगरपालिकाले बिज्ञापन करदेखि कवाडी कर संकलन र फोहोर व्यवस्थापनसम्मको ठेक्का रकम समेत निर्धारण गरेको जनाएको छ । 

नगरभित्र हुने विज्ञापनबापतको कर उठाउन वार्षिक १ लाख रुपैयाँमा ठेक्क लगाउने नगरपालिकाको निर्णयमा उल्लेख छ । 

डम्पिङ साइटबाहेकको कवाडी कर ७ लाख र डम्पिङ साइटको कवाडी कर २ लाख रुपैयाँ न्युनतम उठाउने निर्णय गर्दै नगरपालिकाले ठेक्का आह्वान गर्ने निर्णय गरेको हो । नगरभित्रको फोहोर व्यवस्थापनको जिम्मा भने अब नगरपालिकाले मासिक १ लाख ४५ हजार रुपैयाँ खर्च गर्ने भएको छ । 

हेर्नुहोस् यस्ता छन् निर्णय 

 

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update