Odapalika - The Fourth Estate - चौथो अंग
राधा–घनुको गजलमा सन्तोषको एकल गायन

काठमाडाैँ ।

मलाई नसोधी छुने यही झरी हो

सधैँ साथ मेरो हुने यही झरी हो ।

गजलकार राधा कणेल र घनेन्द्र ओझाका शब्दमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको धून र आवाज दिएका छन् ।  सर्वनाम थिएटरमा शनिवार उनले गजलको एकल गायन गरे । 

आँखा जुधाउने पो बानी रहेछ तिम्रो

मान्छे भुलाउने पो बानी रहेछ तिम्रो ।

घनेन्द्र ओझाका यी शब्द गायक श्रेष्ठको मुखबाट झर्नेबित्तिकै बज्न थालेको ताली पाँचै शेर पूरा हुन्जेल बजिरहेकै थियो ।

उपस्थित श्रोताहरू मुग्ध मात्र थिएनन्, मस्त पनि थिए गजल सुनेर । कोही भन्दै थिए, ‘साँच्चै गजलमै रमाउन पाइयो । यस्ता कार्यक्रम भइरहनुपर्छ ।’

गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाका शब्दमा सन्तोष श्रेष्ठले छवटा गजल गाए । आफ्नै सङ्गीत र स्वरमा गजलहरू प्रस्तुत गरेका सन्तोष अबको नेपाली गजल गायन तीव्र र व्यावसायिक हुनुपर्ने बताउँछन् । यही समय नेपाली गजल गायनलाई उठाउने र विस्तृत बनाउने उपयुक्त समय भएकाले सन्तोष र आफूले यो दशकलाई नेपाली गजल गायनको स्वर्ण दशक बनाउने घोषणा गरेको गजलकार ओझाले बताए ।

कार्यक्रममा गजलकार ओझा र सङ्गीतकाररगायक श्रेष्ठको गजल एल्बम ‘शुभेच्छा’माथि चर्चासमेत गरिएको थियो । सङ्गीतकार राजु सिंहले शुभेच्छा शास्त्रीय बहरमा लेखिएका गजलहरूको एल्बम भएको भन्दै नपाली गजल गायनका चार पुस्ता ज्ञानु राणा, आनन्द कार्की शिव परियार, निशा देशार, सन्तोष श्रेष्ठ र अस्मिता असिकारीको स्वर समेटिएको बताए । 

गजलविज्ञ डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले ओझा र कणेलका सुन्दर गजलमा सङ्गीत र स्वरसहित प्रस्तुत गरेकामा श्रेष्ठको प्रशंसा गर्दै नेपाली गजल गायनलाई तीव्र बनाउन आग्रह गरे ।

साहित्य अभियन्ता बाबु त्रिपाठीले नेपाली गजलमा विवाद नभएको र कसैले गराइदिएको विवादलाई गजल स्रष्टाहरूले बुझिसकेका भन्दै गजल स्रष्टाहरू अब गजलका पक्षमा मात्र रहेका प्रस्ट पारे ।

कार्यक्रमको अभिभावकत्व ग्रहण गरेका गजलकार डा. भोजराज घिमिरेले नेपाली गजललेखन परिष्कारको बाटोमा हिँडिसकेको र अब गायनमा पनि परिष्कारसँगै तीव्रता र विस्तार जरुरी रहेको बताए । उनले चण्डीप्रसाद काफ्ले, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठ जस्ता जुझारु र प्रतिबद्ध सङ्गीतकाररगायक नेपाली गजलले पाउनु खुसीको कुरा भएको बताए ।

गजलकारद्वय कणेल र ओझाले १५ वर्षअघि विवाहकै दिन ‘बाटो अझै छ बाँकी’ संयुक्त गजल कृति प्रकाशनसहित जीवनको सहयात्रा सुरु गरेको १६औँ वर्षमा गायनमा पनि सहयात्रा सुरु भएको भन्दै यसका लागि सङ्गीकाररगायक श्रेष्ठ र अभिभावक डा. घिमिरेप्रति कृतज्ञता प्रकट गरे ।

गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको आयोजना र नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञाप्रतिष्ठान, कलरक्राफ्टको सहकार्यमा भएको कार्यक्रमलाई आधुनिक नपाली गजल अभियान, अनाममण्डली, उत्सवलगायत देशभरका डेढ दर्जन साहित्यिक संस्थाको प्रत्यक्ष साथ थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update