Odapalika - The Fourth Estate - चौथो अंग
खाँडीगाउँका भीमसेन काका– भतिजः कसरी बने ७२ लाख नगदसहित पक्राउ पर्ने अवस्थाका ? 

काठमाडौँ । आइतबार विहान नेपाल प्रहरीले एउटा समाचार सार्वजनिक गर्यो । समाचार थियो– ७२ लाख रुपैयाँसहित काठमाडौंको एक गेष्टहाउसबाट २ जना पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ पर्नेहरु भोजपुर स्थायी घर भएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेको बतायो । र, प्रहरीले सँगै के जानकारी दियो भने उनीहरुसँग भएको सो ७२ लाख रुपैयाँको स्रोत खुलेन ।

प्रहरीबाट यो सुचना आएपछि वडापालिकाले ती व्यक्तिहरु भोजपुरको कहाँका हुन्, उनीहरुको आर्थिक अवस्था कस्तो छ, गाउँमा उनीहरुलाई कसरी चिनिन्छ भन्ने जस्ता विषयमा जानकारी संकलन गरेको छ ।

हामीले पाएको जानकारी अनुसार भीमसेन र खेमराज नातामा काका भतिज पर्छन् । उनीहरु भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर ४ बास्तिम भन्ने ठाउँमा पर्ने खाँडीगाउँका हुन् । 

पहिलादेखि नै सुन व्यवसाय गर्ने भीमसेनले गाउँका आफन्तहरुलाई पनि सोही व्यवसाय गर्न लगेको र उनीहरुका काठमाडौँमा सुन व्यवसाय गर्ने गरेको पौवादुङमा गाउँपालिका ४ का वडाध्यक्ष रमेश राईले जानकारी दिए ।

‘भीमसेन विश्वकर्मा पहिलादेखि नै सुन व्यवसायमा संलग्न रहेछन् । उनले केही आफन्तहरुलाई सोही व्यवसाय गर्न भनेर लगेका रहेछन् । खेमराज उनका भतिज पर्ने रहेछन् । उनीहरु काठमाडौँमा सुन व्यवसाय गर्छन् भन्ने सुनको छु,’ वडाध्यक्ष राईले वडापालिकासँग भने ।

उनी पहिलादेखि नै सुन व्यवसायमा संलग्न रहेको वडाध्यक्ष राईले जानकारी दिए । प्रहरीले आइतबार विहान भीमसेन र खेमराजलाई स्रोत नखुलेको ७२ लाख नगद सहित पक्राउ गरेको हो । उनीहरु अबैध सुन खरिदको तयारीमा रहेको प्रहरीको दाबी छ । विश्वकर्मा द्वयलाई प्रहरीले काठमाडौको चावहिलमा रहेको लुम्बिनी खाजा तथा गेष्टहाउसको एक कोठाबाट पक्राउ गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update