Odapalika - The Fourth Estate - चौथो अंग
गाडी किन्ने, तेल हाल्ने र बनाउने नाममा स्थानीय तहले सके ६ अर्ब १७ करोड 

काठमाडौँ । अघिल्लो आर्थिक वर्षमा मात्र स्थानीय तहले सवारी साधन खरिद, मर्मत र इन्धनका नाममा ६ अर्ब १७ करोड ७९ लाख ७५ हजार खर्च गरेको पाइएको छ । 

महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार स्थानीय तहहरुले यो रकम चारपांग्रे र दुइपांग्रे सवारी खरिद, त्यसमा इन्धन हाल्ने र मर्मत गर्ने काममा खर्च गरेका हुन् । 

प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा ७५ स्थानीय तहले साडी किनेका छन् । उनीहरुले यसरी गाडी किन्दा ३ अर्ब ६६ करोड ७१ लाख २० हजार रुपैयाँ खर्च गरेका हुन् । 

१३० स्थानीय तहले २० करोड ७२ लाख ३८ हजार रुपैयाँको दुई पांग्रे सवारी अर्थात मोटरसाइकल, स्कुटर र साइकल खरिद गरेका छन् ।

यी स्थानीय तहले सवारी साधन खरिदमा जम्मा ३ अर्ब ८७ करोड ४३ लाख  ५८ हजार रुपैयाँ खर्च गरेको प्रतिवेदनमा औँल्याइएको छ । 

महालेखाका अनुसार २६४ स्थानीय तहले सवारी साधन मर्मतका नाममा ७३ करोड  ६७ लाख ९ हजार सकेका छन् भने ३२७ स्थानीय तहले सवारीमा इन्धन भर्दा १ अर्ब ५६ करोड ६९ लाख ८ हजार सकेका छन् । 

स्थानीय तहले सवारी मर्मत र इन्धनमा मात्र २ अर्ब ३० करोड ३६ लाख १७ हजार रुपैयाँ खर्च गरेको प्रतिवेदनमा औँल्याइएको छ । 

   
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update