Odapalika - The Fourth Estate - चौथो अंग
रामशरणको ४६ हजार डलर खोज्ने एमालेले किन खोजेन सुमनाको ३ लाख ७० हजार डलर ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विदेशी बैंकमा आफ्नो हक लाग्ने सम्पत्ति रहेको बताए पनि त्यसको खोजी भने संसदमा भएको छैन । 

यसअघि नेपालका मन्त्रीको विदेशी बैंकमा रकम रहेको बारेमा भने संसदमा प्रश्न उठ्ने गरेको थियो । 

मन्त्री श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उनका श्रीमान पावल स्वविन्सकीको नाममा रहेको विदेशी बैंकको खातामा उनको रकम छ ।

मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गर्ने सम्पत्ति विवरणमा उनीहरुको दाबी लाग्ने सम्पत्ति मात्रै देखाउने गर्छन् । यो आधारमा हेर्दा मन्त्री श्रेष्ठले उनका श्रीमानको बैंक खातामा रहेको सम्पत्ति आफ्नो हक लाग्ने भएकोले देखाएको अनुमान गर्न सकिन्छ ।

मन्त्री श्रेष्ठले बुझाएको सम्पत्ति विवरणमा उनका श्रीमान पावलको बैंक खातामा ३ लाख  ६९ हजार ७ सय अमेरिकी डलर छ । यो सम्पत्ति पारिवारिक र उपहार भएको मन्त्री श्रेष्ठले खुलाएकी छिन् ।

नेपालको विद्यमान कानुनले नेपाली नागरिकलाई विदेशी बैंक तथा वित्तीय संस्थामा रकम राख्न दिदैन । यद्यपि, मन्त्री श्रेष्ठका श्रीमान विदेशी रहेको र उनले विदेशमा प्राप्त गरेको सम्पत्ति भएकोले सुमनाले देखाएको सम्पत्ति विवरणको रकमका बारेमा दुविधा उत्पन्न भने हुन्छ ।

‘सुमनाजीले बुझाएको सम्पत्ति विवरणमा उनको हक लाग्ने सम्पत्ति विदेशको बैंकमा रहेको देखियो । आफ्नो हक लाग्ने भएकोले नै उहाँले त्यो सम्पत्ति देखाउनु भएको हो । नेपालका मन्त्री मात्रै होइन, नागरिकले पनि विदेशका बैंक वित्तीय संस्थामा रकम राख्न पाइदैन । तर, उहाँका श्रीमान विदेशी नागरिक हुनुहुन्छ । सुमनाजीले मेरा श्रीमानको भनेर पनि उल्लेख गर्नुभएको छ । एकातिर उहाँको हक लाग्ने सम्पत्ति विदेशमा हुनु र अर्काेतिर विदेशी श्रीमानको नाममा रहेको खाताको रकम भएकोले दुविधा छ । यसमा कानुनी निरुपण जरुरी देखिन्छ,’ अधिवक्ता हरिप्रसाद ढुंगेलले वडापालिकासँग भने ।

विगतमा विदेशका बैंक तथा वित्तीय संस्थामा नेपालका एक मन्त्रीको रकम रहेको पाउँदा ‘नैतिकता’को विषय भन्दै संसदमा हंगामा गर्ने नेकपा एमाले भने मन्त्री श्रेष्ठको विषयमा भने मौन छ । युएनडिपीमा काम गरेर फर्केका तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको विदेशी बैंकमा ४६ हजार अमेरिकी डलर रहेको पाइएपछि नेकपा एमालेले संसदमा हंगामा गरेको थियो ।

एमालेले डा. महतको विषय उठाएको २०५३ सालमा हो । एमालेले तत्कालिन अर्थमन्त्री डा. महतमाथि नैतिकताको प्रश्न उठाउँदै संसदमा हंगामा गरेको थियो । एमालेले संसदमा हंगामा गरेपछि तत्कालिन अर्थमन्त्री डा. महतले पदबाट राजीनामा दिदै छानविनको लागि ‘कुर्सी खाली’ गरेका थिए । यद्यपि, राजीनामा दिएपछि एमालेले डा. महतमाथि छानविन गर्न चासो देखाएन भने उनी केही महिनापछि पुन अर्थमन्त्रीमा नियुक्त हुँदा कसैले प्रश्न उठाएको थिएन । 

डा. महतले विदेशमा कमाएको रकम विदेशका बैंकमा राखेको र नेपाल ल्याउने प्रक्रिया भइरहेको बताउँदा पनि एमालेले छानविनको माग जोडदार रुपमा उठाएको थियो । तर, अहिले शिक्षामन्त्री श्रेष्ठले विदेशी श्रीमानको विदेशी बैंकमा रकम रहेको देखाउँदा सत्तापक्ष एमाले मात्रै होइन, विपक्षी दलसमेत मौन देखिएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update