Odapalika - The Fourth Estate - चौथो अंग
२ हजार ३२२ विद्यार्थीले पाए महानगरको छात्रवृत्ति, शिक्षा र कानुनमा देखिएन आकर्षण 

काठमाडौँ । कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले वेभसाइटमा सूची सार्वजनिक गरेको हो । 

छात्रवृत्तिका लागि २० साउनमा परीक्षा सञ्चालन गरेर त्यसै दिन प्रारम्भिक नतिजा प्रकाशन गरिएको थियो । छात्रवृत्तिका लागि आवेदन दिनेमध्ये ६ हजार १७ जनाको आवेदन स्वीकृत भएको थियो । प्रवेश परीक्षामा ५ हजार १६२ जना विद्यार्थी सहभागी थिए । तीमध्ये ३ हजार ३१ जना छात्र र १ हजार ५१९ जना छात्रा गरी ४ हजार ५५० जनाको नाम प्रारम्भिक नतिजाको एकमुष्ठ योग्यता क्रममा प्रकाशित गरिएको थियो । 

२१ र २२ साउनमा पुनर्योगका लागि समय दिइएको थियो । यसमा ५४ जना परीक्षार्थीले निवेदन दिएका थिए । प्रकाशन गरिएको म्याचिङ् लिष्टमा विज्ञान विषयका लागि १ हजार ४५२ जना, व्यवस्थापन विषयका लागि ७४५ जना, कानुनमा लागि ४३ जना, मानविकीका लागि ४ जना, शिक्षाका लागि ५ जना, सिभिल इञ्जिनियरिङ्का लागि ४९ जना, कम्प्युटरका लागि १८ जना, इलेक्ट्रिकलका लागि ११ जनाको नाम समावेश छ । 

यीमध्ये प्राविधिक धार (सिभिल इञ्जिनियरिङ्, कम्प्युटर, इलेक्ट्रिकल) का विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराइनेछ । कम्प्युटर विषयमा १८ जना (शिवपुरी मा. वि., महाराजगञ्ज ८ जना र सरस्वती निकेतन मा. वि., ब्रह्मटोल (कम्प्युटर १० जना), सिभिल इञ्जिनियरिङ्मा ४९ जना (ज्ञानोदय सेकेण्डरी स्कूल, बाफल १२ जना, पद्मकन्या मा. वि., डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मा. वि., बालुवाटार, १७ जना) र इलेक्ट्रिकल ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन् । 

२७ साउनसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका विषय तथा शिक्षण संस्थाका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु पनि शिफारिस गरिएका छन् । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (¥याङ्क), प्राथमिकता आदेश (प्राइरोटी आर्डर) समावेश गरिएको छ । 

यसैगरी  क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ । छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि प्रतिशत, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशतछात्रवृत्ति उपलब्ध गराइएको छ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३ प्रतिशत, आदिबासी र जनजातिलाई १५, मधेसीलाई १२, खसआर्यलाई १७ प्रतिशत आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइएको छ । 

आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्य राखेर छात्रवृत्ति प्रदान गर्ने प्रणालीलाई संस्थागत गरिएको हो । नतिजा प्रकाशनपछिको संक्षिप्त प्रतिक्रियामा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, परीक्षालाई मर्यादित, निष्पक्ष र सन्तुलित बनाउन प्रविधिमा आधारित परीक्षा र नतिजा प्रकाशन गरिएको बताए । 

पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । यसअवधिमा भर्ना नभए अरु विद्यार्थीलाई भर्ना हुने अवसर दिइनेछ । यस सूचीमा पहिलो लिष्टमा ननम भएका तर भर्ना नभएका विद्यार्थीको नाम स्वतः हट्नेछ । भर्ना प्रणालीका विषयमा जानकारी दिँदै शिक्षा अधिकारी सीताराम कोइरालाले भने, ‘शिक्षा कानुनजस्ता विषयमा कोटामा पुग्ने गरी पनि विद्यार्थीको आवेदन परेन । विज्ञान विषयमा अत्याधिक चाप भयो ।’ प्राविधिक विषय अध्ययन गराउने ६ वटा सामुदायिक विद्यालयसँगै छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको संख्या १७७ छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update