Odapalika - The Fourth Estate - चौथो अंग
१० हजार करोडको काण्ड लुकाउन केपी ओलीले न्युरोडमा विवाद झिकेः मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई १० हजार करोडको काण्ड लुकाउन न्युरोडमा विवाद सिर्जना गरेको आरोप लगाएका छन् । मेयर बालेनले सामाजिक संजाल फेसवुकमा लेख्दै यस्तो आरोप लगाएका हुन् । 

झापाको गिरिबन्धु टि इस्टेट जग्गा सट्टापट्टा प्रकरणमा १० हजार करोड घोटाला गरेको र त्यसलाई ढाकछोप गर्नका लागि न्युरोड फुटपाथ विस्तारमा विवाद सिर्जना गरिदिएको उनको आरोप छ ।

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको पार्किग हटाएर फुटपाथ विस्तार थालेको छ । फुटपाथ विस्तार गर्दा सडक सानो हुने भन्दै आफुसंग सहमति नलिउको भन्दै सडक विभागले आपत्ति जनाएको छ । न्युरोडको सडक सडक विभागले बनाएको हो । 

तर सो क्षेत्रको फुटपाथ भने काठमाडौँ महानगरपालिकाले बनाएको हो । सडकको चौडाइ यथावत राखी हाल पार्किगं गरेको क्षेत्रसहित फुटपाथ निर्माण गर्ने र यसो हुँदा फुटपाथ फराकिलो हुने मेयर बालेनको भनाइ छ । न्युरोड क्षेत्रमै पर्ने वडाका वडाध्यक्षले पनि सार्वजनिक रुपमै मेयर बालेनको सो कदमप्रति आपत्ति जनाइसकेका छन् । 

वडाअध्यक्षको यस्तो आपत्ति पछि मेयर बालेनले विज्ञ समूह बनाएर अध्ययन गराउने र सोही अध्ययनका आधारमा न्युरो क्षेत्रको फुटपाथ व्यवस्थित गर्ने बताएका छन् । 

सडक विभाग, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय अन्तरगत पर्छ । सो मन्त्रालयमा एमाले नेता रघुविर महासेठ मन्त्री छन् । 

न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा सडक विभागले अवरोध गरेको भन्दै केही दिनअघि काठमाडौँ महानगरपालिकाले सडक विभागको गेटमा धुलो फालिदिएको थियो । 

धुलो फलेको विषयमा एमाले अध्यक्ष ओलीले मेयर बालेनको चर्को आलोचना गरेका थिए । यही सन्दर्भमा मेयर बालेनको नयाँ धारणा आएको हो । 

यस्तो छ मेयरको स्टाटस 

१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ूदुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ू भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  

यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । 

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update