Odapalika - The Fourth Estate - चौथो अंग
गोदावरीका मेयर र उपमेयरसँग जनही ३ अर्ब ७० करोड असुल गर्न अख्तियारको माग, यस्तो छ हिसाब

काठमाडौँ । ढुंगाखानीमा राजश्व हिनामिना गरेर भ्रष्टाचार गरेको अभियोग लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी अनुसार रकम तिर्नुपर्ने अवस्थामा जनही ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी तिर्नुपर्ने देखिएको छ । 

अख्तियारले ५ वर्षको अवधिमा नगरपालिका क्षेत्रमा संचालित ढुंगाखानीमा कानुनले तोकेको भन्दा कम राजश्व लिएर राज्यलाई हानी नोक्सानी गरेको भन्दै मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, ४ जना तत्कालीन प्रमुख प्रशासकीय अधिकतृ, ३ जना राजश्व अधिकृत र ५ जना ढुंगाखानी संचालकविरुद्ध मुद्दा दर्ता गरिसकेको छ । 

उनीहरु विरुद्ध क्रसर खानी तथा नदीजन्य पदार्थमा सरकारी दररेट भन्दा कम कर जम्मा गरेर राजश्व हिनामिना गरेको अभियोग छ । आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/८० सम्मको अवधिमा भएका विभिन्न ठेक्कामा मिलेमतोमा राजश्व हिनामिना गरेको अख्यिारको दाबी छ । 

अख्तियारले ५ आर्थिक वर्षको बेग्लाबेग्लै अभियोग पत्र दायर गर्दै हरेक वर्षको बेग्लाबेग्लै बिगो कायम गरेको छ भने विगोको दोव्बर जरिमाना असुल गरी कैद सजाय गर्न समेत माग गरेको छ । 

खानीजन्य पदार्थको बोलपत्र आह्वान र ठेक्का सम्झौता गर्दा गोदावरी नगरपालिकाका मेयर उपमेयर प्रमुख प्रशासकीय अधिकृतले संविधान संघीय कानुन, बाग्मती प्रदेश ऐन, स्थानीय सरकार संचालन ऐनको वेवास्ता गरेको  र वागमती प्रदेश आर्थिक ऐनले निर्धारण गरेको राजश्व दर प्रति घनफिट ९ रुपैयाँ लिनुपर्नेमा २ रुपैयाँ ७५ पैसा घनफिट मात्र असुल गरेर प्रति घनफिट ६ रुपैयाँ २५ पैसाको प्रत्यक्ष लाभ खानी उद्योग र क्रसर व्यवसायीलाई पुर्याएको अख्तियारको दाबी छ । 

यसरी हरेक वर्ष राज्यकोषको रकममा घोटाला गरेकाले उनीहरुलाई बिगो र बिगोको दोब्बर जरिमाना असुल माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियारको दाबी अनुसार बिगो र जरिमाना तिर्नुपर्ने अवस्था आए मेयर र उपमेयरले भारी रकम तिर्नुपर्ने देखिएको छ । उनीहरुले कति रकम तिर्नुपर्छ भन्ने हिसाब हेर्नुअघि कुन आर्थिक वर्षमा कति राजश्व हिनामिना भएको छ भनेर हेरौँ । 

कुन आर्थिक वर्षमा कति राजश्व हिनामिना?

आर्थिक वर्ष २०७५/०७६ 

१७ करोड ८९ लाख ३५ हजार ५०० रुपैयाँ 

आर्थिक वर्ष २०७६/०७७

२१ करोड २१ लाख ९७ हजार ५० रुपैयाँ  

आर्थिक वर्ष २०७७/०७८

१८ करोड ६३ लाख २१ हजार ५८९ रुपैयाँ

आर्थिक वर्ष २०७८/०७९

२० करोड ४९ लाख ५३ हजार ७५० रुपैयाँ 

आर्थिक वर्ष २०७९/०८० 

२६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ 

जम्मा राजश्व हिनामिना 

१ अर्ब २३ करोड ५० लाख ६६ हजार ८६७ रुपैयाँ 

यसरी ३ करोड भन्दा वढी तिर्नपर्छ मेयर र उपमेयरले 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरेक आर्थिक वर्षमा भएको राजश्व हिनामिनाको हिसाब निकालेर बेग्लाबेग्लै अभियोगपत्र दर्ता गराएको छ । 

अभियोगपत्र अनुसार ५ वर्षको अवधिमा मेयर र उपमेयरले जम्मा १ अर्ब २३ करोड ५० लाख ६६ हजार ८६७ रुपैयाँ राजश्व हिनामिना गरेर भ्रष्टाचार गरेका छन् । अख्तियारले यो रकम मेयर र उपमेयर दुबैबाट बेग्लाबेग्लै असुल गर्न भनेको छ । 

यसरी असुल गर्दा १ जनाको भागमा बिगोमात्र १ अर्ब २३ करोड ५० लाख ६६ हजार ८६७ रुपैयाँ तिर्नुपर्छ । 

अख्तियारले मेयर र उपमेयरबाट बिगो दाबी गरिएको रकमको दोब्बर जरिमाना असुल गर्न माग गरेको छ । यसो गर्दा मेयर र उपमेयरले जरिमाना बापत बिगोको दोब्बर रकम अर्थात जनही २ अर्ब ४७ करोड १३ लाख ३ हजार ७३४ रुपैयाँ तिर्नुपर्छ । 

दोब्बर जरिमाना र कायम भएको बिगो समेत हिसाब गर्ने हो भने अख्तियारले मेयर र उपमेयरबाट जनही ३ अर्ब ७० करोड ५२ लाख ६०१ रुपैयाँ असुल गर्न माग गरेको छ । 

यसरी अख्तियारको माग दाबी अनुसार नै अदालतबाट बिगो र जरिमाना कायम हुने हो भने मेयर र उपमेयरले जनही ३ अर्ब ७० करोड ५२ लाख ६०१ रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update