Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्न छात्रबृत्ति पाएका विद्यार्थीले के–के सुविधा पाउँछन् ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा पढ्नका लागि छात्रबृत्ति पाउने विद्यार्थीहरुको भर्नाको पहिलो सूची सार्वजनिक गरेको छ ।

महानगरका अनुसार कक्षा ११ मा अध्ययनका २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा परेको छ ।

छात्रवृत्तिका लागि २० साउनमा परीक्षा सञ्चालन गरेर त्यसै दिन प्रारम्भिक नतिजा प्रकाशन गरिएको थियो । छात्रवृत्तिका लागि आवेदन दिनेमध्ये ६ हजार १७ जनाको आवेदन स्वीकृत भएको थियो । प्रवेश परीक्षामा ५ हजार १६२ जना विद्यार्थी सहभागी थिए । तीमध्ये ३ हजार ३१ जना छात्र र १ हजार ५१९ जना छात्रा गरी ४ हजार ५५० जनाको नाम प्रारम्भिक नतिजाको एकमुष्ठ योग्यता क्रममा प्रकाशित गरिएको थियो । 

यस्तै, २१ र २२ साउनमा पुनयर्याेगका लागि समय दिइएको थियो । यसमा ५४ जना परीक्षार्थीले निवेदन दिएका थिए । प्रकाशन गरिएको म्याचिङ् लिष्टमा विज्ञान विषयका लागि १ हजार ४५२ जना, व्यवस्थापन विषयका लागि ७४५ जना, कानुनमा लागि ४३ जना, मानविकीका लागि ४ जना, शिक्षाका लागि ५ जना, सिभिल इञ्जिनियरिङ्का लागि ४९ जना, कम्प्युटरका लागि १८ जना र इलेक्ट्रिकलका लागि ११ जनाको नाम समावेश छ । 

यीमध्ये प्राविधिक धार (सिभिल इञ्जिनियरिङ्, कम्प्युटर, इलेक्ट्रिकल) का विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराइनेछ । कम्प्युटर विषयमा १८ जना (शिवपुरी मावि महाराजगञ्ज ८ जना र सरस्वती निकेतन मावि ब्रह्मटोल (कम्प्युटर १० जना), सिभिल इञ्जिनियरिङ्मा ४९ जना (ज्ञानोदय सेकेण्डरी स्कूल, बाफल १२ जना, पद्मकन्या मावि, डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मावि बालुवाटारमा १७ जना) र इलेक्ट्रिकल ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन् ।

२७ साउनसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका विषय तथा शिक्षण संस्थाका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु पनि शिफारिस गरिएका छन् । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (र्याङ्क), प्राथमिकता आदेश (प्राइरोटी आर्डर) समावेश गरिएको छ । 

पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । यसअवधिमा भर्ना नभए अरु विद्यार्थीलाई भर्ना हुने अवसर दिइने काठमाडौँ महानगरको भनाइ छ ।

छात्रबृत्ति पाउनेले के–के सुविधा पाउँछन् ?

कक्षा ११ को अध्ययनका लागि छात्रबृत्ति पाउने विद्यार्थीले के–के सुविधा पाउँछन् भन्ने प्रश्न पनि छ । अझ कतिपय विद्यार्थी र अभिभावकमा त छात्रबृत्ति पाउने विद्यार्थीले भर्ना शुल्क तिर्नु पर्ने हो कि होइन, मासिक शुल्क, ल्याव तथा पुस्तकालय शुल्क लाग्छ कि लाग्दैन भन्ने अन्योल पनि देखिएको छ ।

तर, यो विषयलाई काठमाडौँ महानगरले स्पष्ट पारिदिएको छ । छात्रबृत्ति पाउने भनेको के–के सुविधा पाउने हो भनेर महानगरका शिक्षा अधिकारीले सम्बन्धित शिक्षण संस्थालाई पत्र पठाएर स्पष्ट खुलाएका हुन् ।

महानगरको पत्र अनुसार छात्राबृत्ति पाउने विद्यार्थीले कक्षा ११ र १२ मा पढुन्जेल कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन । 

‘छात्रबृत्ति भन्नाले कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याव÷पुस्तकालयबापत शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था भन्ने सम्झनु पर्दछ,’ महानगरपालिकाको शिक्षा अधिकारी सीताराम कोइरालले शिक्षण संस्थाहरुलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update