Odapalika - The Fourth Estate - चौथो अंग
ओली–बालेन जुहारीमा लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले किन देखे ‘पिकेट फेन्स’ संघीयता ?

काठमाडौँ । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको दोहोरीले नेपालको संघीयता ‘पिकेट फेन्स मोडालिटी’मा जान लागेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री ओली र काठमाडौँका मेयर बालेनबीचको दोहोरी अधिकार क्षेत्रको विवादले निम्त्याएको निष्कर्ष निकाल्दै नेपाल सरकारको पूर्वसचिव समेत रहेका पूर्वअध्यक्ष मैनालीले नेपालको संघीयताको मोडल नै परिवर्तन हुन सक्ने खतरा औल्याएका छन् ।

‘हाम्रो संघीयताको मोडल को–अपरेटिभ हो । एकले अर्कालाई सघाउने र एकअर्काबीच सहकार्य हो । तर, काठमाडौँ महानगरपालिकाका मेयर र एमाले अध्यक्षबीचको जुहारीले हाम्रो संघीयताको मोडल पिकेट फेन्स मोडालिटीमा जाने खतरा देखियो । यो असाध्यै चिन्ताको विषय हो,’ आयोगका पूर्वअध्यक्ष मैनालीले वडापालिकासँग भने ।

के हो पिकेट फेन्स मोडालिटी ?

पूर्वअध्यक्ष मैनालीले सरकारहरुबीच द्वन्द हुने संघीयताको मोडललाई पिकेट फेन्स संघीयता भनिने बताए । नेपालले अपनाएको संघीयताको मोडल जर्मनीबाट प्रेरित भएको कोअपरेटिभ मोड रहेको भन्दै उनले मेयर बालेन र पूर्वप्रधानमन्त्री ओलीबीचको जुहारीलाई द्वन्दको डरलाग्दो संकेत भएको बताए ।

‘पिकेट फेन्स मोडल भनेको आफैमा द्वन्द हुने मोडल हो । यहाँ एमाले अध्यक्ष र मेयर बालेनका बीचमा द्वन्द जस्तो देखिए पनि यो संघ, प्रदेश र स्थानीय सरकारबीचको द्वन्दको उत्कर्ष जस्तो हो । केही प्रदेशहरु आफूलाई बेग्लै राज्य जसरी प्रस्तुत गरिरहेका छन् भने संघले यी सबै मेरा मातहत निकाय हुन भन्ने जस्तो व्यवहार गरिरहेको छ । यी दुबै अतिवादले हामीलाई पुर्याउने द्वन्दमा नै है, जुन हाम्रालागि डरलाग्दो विषय हो,’ मैनालीले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update