Odapalika - The Fourth Estate - चौथो अंग
३ दिनदेखि गोदावरी नगरपालिका नेतृत्वबिहीन, अझै टुंगिएन कार्यवाहक

ललितपुर । ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मेयर र उपमेयर निलम्बनमा परेपछि ३ दिनयता ललितपुरको गोदावरी नगरपालिका नेतृत्वबिहीन बनेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जेठमा विगत ५ वर्षमा ढुंगागिटी उत्खननकाे ठेक्कामा प्रदेश सरकारले तोकेको भन्दा कम दररेटमा ठेक्का लगाएर राजश्व हिनामिना गरेको भन्दै मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, तत्कालीन ४ जना प्रमुख प्रशासकीय अधिकृत, ३ जना राजश्व शाखाका प्रमुख र ५ जना ठेकेदारविरद्ध मुद्दा दायर गरिसकेको छ । 

मुद्दा दर्ता भएलगत्तै मेयर र उपमेयर स्वतः निलम्बनमा परेका छन् । उनीहरु निलम्बनमा परेपनि कार्यवाहक मेयर कसलाई दिने भन्ने विषयमा नगरका जनप्रतिनिधिहरुको बैठक समेत बसेको छैन । 

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार कार्यवाहक कसलाई दिने भन्ने विषयमा आज अपरान्ह ४ बजे कार्यपालिकाको बैठक डाकिएको छ । मेयर र उपमेयर पनि नभएको अवस्थामा कसलाई बार्यवाहक दिने भन्ने विषयमा नगरपालिकाले कुनै कार्यविधि र कानुन बनाएको छैन । यो कानुन नबनाएका कारण कार्यवाहक कसलाई दिने भन्ने अन्योल छ । 

तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने कानुन र कार्यविधि नबनाएको भए, सम्वन्धित प्रदेशको कानुनअनुसार हुने र सो पनि नभए कार्यपालिका बैठकबाट कार्यवाहक सम्वन्धि निर्णय गर्न सकिनेछ । 

कार्यपालिका बैठकले सबैभन्दा ज्येष्ठ सदस्यलाई कार्यवाहक तोक्ने प्रचलन छ । यो प्रचलन गोदावरीका कार्यपालिका सदस्यहरुले अपनाए वडा नम्बर ११ का वडा अध्यक्ष ६३ वर्षीय निलबहादुदर देशार गोदावरी नगरपालिकाका कार्यवाहक मेयर हुनेछन् । 

उनी कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् । अघिल्लो कार्यकालमा उनी सोही वडाबाट राप्रपाको तर्फबाट प्रतिनिधित्व गर्दै वडाअध्यक्ष बनेका थिए । गोदावरी नगरपालिकामा १४ वटा वडा छन् । मेयर उपमेयरसहित कांग्रेसका ११ वटा वडाअध्यक्ष छन् भने माओवादी केन्द्रका २ र एमालेका १ जना वडाअध्यक्ष छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update