महोत्तरी । भिजेको कपडा घरभरी सुकाइएको छ । माटोको भुइँतले घरमा सानो किराना पसल छ । पसलमा यत्रतत्र छरिएका छन् सामान । वारीमा २ वटा भैंसी बाँधिएका छन् । २ वटा बंगुर र ३ वटा खसी उघ्राइरहेका छन् ।
यही घरमा बस्ने डिकु कुमारी गिरी र पुर्ण योङजनको प्रेरणादायी भोगाइ सुन्ने जो कोहीलाई पत्याउन मुस्किल पर्छ ।
बर्दिबासको मुख्य चोकवाट उत्तरतर्फ झण्डै ७ किलोमिटर भित्र पुगेपछि चुरे काछमा रहेको चेरु गाउँ पुगिन्छ । हो यहीँ गाउँमा रहेको यो घर दुवै खुट्टा नचल्ने डिकु कुमारी र दृष्टिबिहीन उनका श्रीमान पुर्णको संघर्षपूर्ण कथाको साक्षी वनेको छ ।
काम गर्ने इच्छाशक्ति र आत्मविश्वास भए जस्तोसुकै काम गर्ने मात्र हैन सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदाहरण हुन डिकु दम्पती ।
कामले जोडिदिएको सम्बन्ध
२०७४ सालतिरको कुरा हो । डिकु गौशालास्थित एक नीजि विद्यालयमा पढाउँथिन् । हिडडुल गर्न समेत ह्विल चियरको सहारा लिनुपर्ने डिकुलाई खुट्टा नभएपनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो ।
एक दिन विद्यालयमा डिकु पढाउदै थिइन् । दुवै आखाँमा कालो चस्मा लगाएका पुर्णलाई देखिन् । उनी सोही विद्यालयमा दृष्टिबिहीन विद्यार्थीलाई कम्प्युटर सिकाउँथे । यही भेटले अन्ततः यो जोडी बाँधियो ।
विवाहपछि आफन्तले दिएको १० धुर जग्गामा माटो र बाँसले बनेको घर बनाएपछि उनीहरुका दिन थप संघर्षमय बन्दै गए ।
विभेदले लखेटेका पुर्ण
पुर्णको आमा सानैमा वितेपछि वुवाले अर्को विवाह गरे । सौतेनी आमाको बिभेदपूर्ण व्यवहारका वावजुत कक्षा १० सम्म पढेपछि उनले घर छाडे । ‘म घरवाट निस्किएर दुःख गरेर प्लस टु गरेँ । मधेश आएपछि डिकुसँग भेट भयो,’ पूर्ण विगतमा फर्किदै भन्छन् ।
किराना पसल र होटलबाट भ्याइनभ्याई
अहिले डिकु दम्पतीलाई किराना पसल र होटल संचालन गर्न भ्याइनभ्याइ हुन्छ । डिकुले घरेलु मदिरा पनि वनाउँछिन् । ‘कहिले कोदो, कहिले कनिका, कहिले मिठाइको रक्सी वनाउँछु,’ उनले वडापालिकासँग भनिन् ।
किराना पसलवाट पनि उनीहरु दैनिक ४ हजार रुपैयाँसम्म व्यापार गर्छन् । गाउँभरका मानिसहरु किनमेल गर्न डिकुको मै पुग्छन् ।
अपांगता भएको यो दम्पतीको जाँगर अहिले गाउँभरी प्रेरणाको श्रोत बनेको छ ।
घरमा भैंसी, बाख्रा र वंगुर पनि छन् । तिनलाई घाँसपात डिकुले नै गर्छिन् । डिकु घस्रिदै बारीमा पुग्छिन् । घास काटरे खुवाउँछिन् ।
घाँस बोक्न चै डिकुलाई समस्या हुन्छ । यो काममा प्रायजसो दाइको छोरीले सहयोग गर्छिन् भने कहिलेकाही छिमेकीहरुले बोकिदिन्छन् ।
पक्की घर वनाउने योजना
सामान राख्ने ठाउँ, पाहुना आउदा सुत्ने कोठाको अभाव महसुस भएपछि यो जोडी नयाँ घर वनाउने योजना बनाउँदै छन् । घर अघि थुपारेको ढुंगा देखाउदै डिकु भन्छिन, ‘मान्छे बसेर खान समेत छैन, त्यसैले घर वनाउन लागेका छौँ ।’
पञ्चधुरा माध्यमिक विद्यालय चेरुवाट कक्षा १२ पास गरेकी उनी श्रम गर्न हातखुट्टा र दृष्टि नै चाहिन्छ भन्ने परम्परागत मान्यता भत्काउन चाहन्थिन् । यो अभियानमा सफलता मिलेकोमा डिकु खुसी छिन् ।
त्यसपछि व्यवसायी बने दम्पती
डिकु दम्पतीले सानो पसल खोलेर व्यावसायिक यात्रा थाले । बर्दिबासस्थित समृद्ध नेपाल संस्थाले किराना पसलका लागि २५ हजार रुपैयाँ वरावरको सहयोग गरेपछि व्यवसायको दायरा फराकिलो बनाउन बाटो खुल्यो ।
‘समृद्ध नेपालले सहयोग गरेको २५ हजार वरावरको समानले हजारौं कमायौं । अरुले ह्विल चियर दिन्छौँ भन्छन् तर समृद्ध नेपालले पसल गर्न उक्सायो । यही कारण हामी आत्मनिर्भर पनि भयौँ,’ डिकु भन्छिन् ।
हिड्न नसकेकोमा उनलाई कुनै गुनासो छैन । बरु सहानुभुति देखाउदै ह्विल चेयर दिन्छु भन्नेसँग उनको आक्रोस छ । भन्छिन्, ‘अपांगता भएका व्यक्तिलाई सहारा होइन हौसला र प्रेरणा चाहिन्छ । हौसला भयो भने सवलांगभन्दा हामी कमजोर हुँदै होइनौं,’ डिकुसँगै गफिदै बसेका उनका श्रीमान् पूर्ण भन्छन् ।
अभिभावक बन्नै सकेन गाउँको सरकार
आफ्नै पौरखमा बाँचेको यो दम्पतीले स्थानीय सरकारबाट अहिलेसम्म अभिभावकत्व महसुस गर्न पाएका छैनन् । ‘अपांगता भत्ता आउँछ । अरु केही सहयोग पाइएको छैन । अब त सहयोगको अपेक्षा पनि छैन,’ डिकु भन्छिन् ।
निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन् ।
स्थानीय सरकारसँग गुनासो राख्यो भने ह्विल चियर दिन्छौ भन्दा डिकुलाइ निक्कै रिस उठ्छ । यो अपांगता भएका व्यक्तिमाथिको विभेद हो भन्छन् डिकु दम्पती ।
१५ हजारवाट सुरु हरेको पसलमा अहिले ३ लाखभन्दा बढीको सामान छ । सावुन, चक्लेट मात्र पाइने उनीहरुको पसलमा अहिले धेरै सामान पाइन्छ । वर्दिबास बजारबाट तरकारी ल्याएर पसलवाटै बिक्री गर्छन्, दम्पती । घर बनाउने योजना पुरा भएपछि पशुपालनसँगै व्यवसायलाई थप विस्तार गर्ने उनीहरुको योजना छ ।