Odapalika - The Fourth Estate - चौथो अंग
चिडियाखाना भक्तपुरमा सार्न नदिने ललितपुर महानगरको घोषणा, अब के हुन्छ १० वर्षदेखिको योजना ?  

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन् । 

बुधबार वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्रकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा मेयर महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताए ।  

उनले चिडियाखाना भित्र रहेको पोखरीमा पानीको मुहान सुकेको प्रति चिन्ता व्यक्त गरे । उक्त पोखरीको संरक्षण गर्न टिकाभैरवबाट पानी ल्याएर पोखरीमा पानी हाल्ने महानगरको योजना टेण्डर प्रकृयामा पुगेको जानकारी गराउँदै उनले उनले भने, ‘हामीले टेण्डर गरिसकेका छौं त्यो मूल्यांकनको चरणमा छ । हामी टिकाभैरवको पानी ल्याउँछौं र त्यो सप्तपातल पोखरीमा भरिसकेपछि एउटा कूलो बनाएर चिडियाघरको बिचमा रहेको पोखरीमा हामी पानी ल्याउँछौं भनेको थिए त्यो काम होला होला जस्तो भइरहेको छ ।’

चिडियाखानाको विकासका लागि राम्रो योजना बनाएर ल्याए सहकार्य गर्न महानगर तयार रहेको बताएका महर्जनले चिडियाखाना सूर्यविनायकमा सार्न भने नदिने दाबी गरे । 

‘आज हाम्रो मन्त्रीज्यु पनि हुनुहुन्छ मैले यो कुरा भन्नै पर्ने हुन्छ, यो सरदर चिडियाखाना हामी सूर्यविनायकमा सार्न दिदैनौ । तपाईंहरु अर्कै बनाउनुहोस् यहाँ बढी भएका बाघ भालु बरु लानुहोस् तर यो ठाउँ चाँही हामी सार्न दिँदैनौ,’ महर्जनले भने । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलमा रहेको सदर चिडीयाखाना साघुँरो भएका कारण जीवजनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको  चिडियाखाना निर्माण गर्नुपर्ने आवश्यकता अध्ययन मार्फत औंल्याएको थियो । 

त्यसपछि २०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना बनाउने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ३ गते उक्त आयोजनाको शिलन्यास समेत गरिसकेका छन्  तर, चिडियाखाना निर्माण योजनाले गति लिन सकेको छैन । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update