इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन इन्जिनियरिङ पढेको मान्छे धेरैले किन यो क्षेत्रमा योगदान नगरेको भनेर प्रश्न गर्ने गर्छन् । वास्तावमा मैले रुट चेन्ज गरेँ ।
डिप्लोमा र ब्याचलर्स गरी ७ वर्ष इन्जिनियरिङ अध्ययन गरे । जीवनमा सबै कुरा सोचेजस्तो हुँदैन । करिअर काउन्सीलिङको अभावका कारण मैले अभिभावको आग्रहमा इन्जिनियरिङ पढेछु । तर मेरो लगाव त प्रशासक हुने पो रहेछ !
पहिला पत्ता लगाउन सकिएन । पढाइमा अब्बल भएका कारण पनि होला साथीभाई र अभिभावको आग्रहअनुसार साइन्स हुँदै इन्जिनियरिङ अध्ययनमा लागियो । पढाइअनुसारको क्षेत्रमा केही समय काम पनि गरेँ । लगभग ३ वर्षजति विषयविज्ञ क्षेत्रमा काम पनि गरेँ ।
इन्जिनियरिङ क्षेत्रमा काम गर्दै गर्दा मलाई यो क्षेत्रमा भन्दा अर्काे क्षेत्रमा बढी काम गर्नसक्छु भन्ने अनुभुति भयो । जसअनुसार मैले प्रशासनिक क्षेत्रमा काम गर्नसक्छु भन्ने लाग्यो र यतै जोडिए ।
इन्जिनियरिङ क्षेत्रकै काम गर्दा पश्चिम नेपालका केही ठाउँहरुमा हाइड्रोपावर क्षेत्रमा काम गर्ने अवसर पाएँ । काम गर्ने शलिशिलामा के अनुभव भयो भने– देशको नीतिनिर्माण महत्वपूर्ण रहेछ । सिष्टम नबसाइ र नबनाइ जुनसुकै क्षेत्रका व्यक्तिहरु लागेपनि यो देश उँभो लाग्दैन भन्ने लाग्यो । म प्रशासनमा गएर ऐन, नियम मार्फत सिष्टम परिवर्तन गर्नमा केही भूमिका खेल्छु भनेर आफैँ आकर्षित भएर आएको मान्छे हुँ ।
म प्रशासक बनेर देशको ऐन, कानुन र सिष्टम बदल्न भूमिका खेल्छु भनेर अठोटसहित यो क्षेत्रमा आएको हो, अन्त अवसर नभएर भने होइन ।
मैले पढेको इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन इन्जिनियरिङ हो । इन्जिनियरिङ क्षेत्रमै अनुसन्धान गरेर ब्रान्डेड कम्पनी स्थापना गर्छु भन्ने अठोट थियो ।
थापाथली इन्जिनियरिङ क्याम्पसमा डिप्लोमा सकेपछि बीचको समयमा मैले आफ्नै वर्कसप तथा रिसर्च सेन्टर स्थापना पनि गरेँ । जोरपाटी र मुलपानीमा ४ वर्षजति संस्था चलाएँ पनि ।
त्यहाँ मैले नेपालमा इलेक्ट्रोनिक क्षेत्रमा केही काम गरेर आफ्नै नेपाली ब्राण्डहरु बनाउने साथीहरु खोजेँ । मेरो सोच आफ्नै नेपाली ब्राण्ड बनाउने थियो । तर, मैले गर्नसक्ने अवस्था नै देखिन ।
हामीले खोजेको जस्तो सामग्ी पनि नपाइने मात्र होइन, खासै बजार पनि देखिन । भारत लगायतका देशबाट आवश्यक सामग्री ल्याउनुपर्दा भन्सारमा अनेक लफडा हुने रहेछ । काम गर्न ठूलो लगानीको पनि आवश्यकता पर्ने देखियो । मसँग लगानी गर्ने रकम पनि थिएन र मानिस पनि भेटिएन ।
यो सम्भव नभएपछि मैले ३ वर्षजति हाइड्रो सेक्टरमा काम गरे । त्यसपछि केही इन्जिनियर साथीहरु मिलेर निर्माण कम्पनी स्थापना गरेर पेटी ठेक्कादेखि स्थानीय तहसँग मिलेर निर्माणका कामहरु गर्न सुरु गरियो । सबै ठाउँमा कामको अनुभव लिदा मलाई सरकारी क्षेत्रमा यति धेरै भ्रष्टाचार, अनियमितता र ढीलासुस्ती रहेछ भनेर नजिकबाट चिन्ने अवसर मिल्यो । सरकारी क्षेत्र यतिसम्म ध्वस्त रहेछ कि, कमिसन बाहेक केही नदेख्ने । त्यसले मलाई सबैभन्दा धेरै पोल्यो ।
वास्तवमा निर्माण व्यवसायी यति धेरै पीडित छन् । अस्वस्थ प्रतिस्पर्धा छ जतासुकै । त्यसमाथि उकपछि अर्को व्यक्ति र निकायलाई पाइलैपिछे कमिसन नबुझाइ काम नै नहुने देखेँ, भोगेँ ।
निर्माण व्यसायीले टोले गुन्डा, प्रहरीदेखि विभिन्न कार्यालयसम्मलाई कमिसन छुट्टाउनुपर्ने अवस्था रहेछ भन्ने भोगियो । यो दिक्दारी अवस्थापछि नै हो मेरो बाटो मोडिएको ।
मैले प्रशासनिक क्षेत्रबाहेक अन्यत्र कुनै कामको प्रयास नै गरिन त्यसपछि । इन्जिनियरिङ क्षेत्रका लोकसेवामा भाग नै नलिई म सिधै प्रशासनिक क्षेत्रमा लागेको हुँ ।
मैले व्यावसायिक रुपमा इन्जिनियर भएर पनि केही समय काम गरेँ । त्यसपछि राज्य प्रणालीलाई बदल्नुपर्छ भन्ने मलाइ लाग्यो । यो विषयमा साथीहरुसँग छलफल गरेँ । नेपाल टेलिकममा जागिर खाइराखेको साथीसँग पनि मैले सल्लाह गरे । उनीहरुले त्यहाँ अरुले भनेको कामहरु मात्र गर्ने आफैले केही गर्न नसक्ने थाहा पाए । नागरिक उडड्यन प्राधिकरणमा काम गर्ने साथीहरुसँग सल्लाह गर्दा त्यहाँ पनि केही गर्न नसक्ने देखेपछि इन्जिनियरिङ छाडेर म प्रशासनिक सेवा तर्फ लागेको हुँ ।
वली कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्