Odapalika - The Fourth Estate - चौथो अंग
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त, को को भए मन्त्री?

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त गरेकी हुन् । 

६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए । 

मुख्यमन्त्रीमा नियुक्त भएका सिंह शुक्रबार बिहान १२ बजेर २१ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

एक विशेष समारोहबीच प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सिंहलाई शपथ ग्रहण गराउने तयारी भएको छ । 

मुख्यमन्त्रीमा सिंहले शपथ गरेलगत्तै ११ सदस्यीय मन्त्रीमण्डलसमेत गठन गर्ने तयारी छ । मुख्यमन्त्री सिंहले शपथ लिने समारोहमा नै सबै मन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराइने माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

प्रमुख राजनीतिक दलहरुबीच भएको सहमति अनुसार नागरिक उन्मुक्तिले श्रम तथा यातायात र नेपाल संघीय समाजवादीले गृह तथा संचार मन्त्रालय, माओवादीले अर्थ र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय पाएका छन् । त्यस्तै एकीकृत समाजवादीले भूमी व्यवस्था कृषि तथा सहकारी र उर्जा सिँचाई तथा खानेपानी मन्त्रालाय पाएको छ । एमालेले भौतिक पुर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण गरी चारवटा मन्त्रालय पाएको छ ।

जनमत पार्टीले तत्काल वन तथा वातावरण मन्त्रालय मात्रै पाएको छ भने उसलाई थप एउटा मन्त्रालय पछि दिने सहमति गरिएको छ । 

को को बन्दैछन् मन्त्री ?

पार्टीका नेताहरुका अनुसार एमाले पुरानै चारजना मन्त्रीलाई दोहो¥याउने भएको छ । जसअनुसार संसदीय दलका नेता सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन प्रसाद सिंह, प्रमोद जैयसवाल मन्त्री र शारदादेवी थापा राज्यमन्त्री बन्ने छन् ।

त्यसैगरी माओवादीले पनि अघिल्लो सरकारबाट राजीनामा दिएका संसदीय दल नेता भरत प्रसाद साह र युवराज भटराइलाई फेरि मन्त्री बनाउन लागेको छ । 

एकीकृत समाजवादीबाट समेत अघिल्लो सरकारमा मन्त्री रहेका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने र बेची लुंगेली मन्त्री बन्न लागेका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह र नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुम मन्त्री बन्न लागेका छन् । 

जनमत पार्टीबाट तत्काल विना विभागीय राज्मन्त्रीमा रंजु मण्डल खंगलाई मात्रै नियुक्त गरी शपथ खुवाउने तयारी छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update