Odapalika - The Fourth Estate - चौथो अंग
मेयरहरुसँग प्रधानमन्त्रीले भनेः उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा संघीय सरकारले लिन्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा उपत्यकाका मेयर र उपमेयरसँग छलफल गरेका छन् । 

काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको मञ्च मेयर्स फोरमका पदाधिकारीसँगको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।

‘तपाईहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ । लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ । अब यो काम तीव्रतामा अगाडि बढ्छ,’ प्रधानमन्त्रीले भने । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update