Odapalika - The Fourth Estate - चौथो अंग
यसपालि लहानको माल्दा आँप अनलाइनमा किन्न पाइने, नगरपालिकाले सुरु गर्यो प्रक्रिया

काठमाडौँ । यसपालि लहानको माल्दा आँप अनलाइन मार्फत किन्न सकिने भएको छ । बढी जनसंख्या भएको काठमाडौँ उपत्यकाबासीलाई लहानको माल्दा आँप खुवाउनको लागि अनलाइन मार्फत विक्रीको व्यवस्था मिलाइएको हो ।

गत वर्ष पनि लहानबाट आँप ल्याएर कामठाडौको शान्तिनगरमा स्टल राखेर माल्दा आँप विक्री गरेको सरस्वती कृषि फर्मले यसपालि सो स्थानमा स्टल पनि राख्ने र अनलाइन मार्फत काठमाडौँ उपत्यकाभर विक्री गर्ने तयारी गरेको हो । शान्तिनगरमा स्टल राख्ने र अनलाइन मार्फत होम डेलिभरीको व्यवस्था गर्न लागिएको कृषि र्फमका संचालक नागेश्वर महतोले जानकारी दिए ।

‘पोहोरको विक्री राम्रो भयो । काठमाडौँका उपभोक्ताले लहानको माल्दा आँप मन पराउनु भयो । यसपालि पोहोर स्टल राखेको ठाउँतिरै स्टल पनि राख्ने र अनलाइन मार्फत काठमाडौँभर होम डेलिभरी गर्ने योजना बनाएका छौं,’ महतोले वडापालिकासँग भने ।

नगरपालिकासँग सम्झौता

लहानको माल्दा आँप काठमाडौँमा ल्याएर विक्री गर्ने प्रबन्ध मिलाउन लहान नगरपालिकाले नै अग्रसरता लिएको छ । नगरपालिकाले गत वर्ष पनि अनुदान दिएर आँप विक्रीको व्यवस्था मिलाएको थियो ।

‘पोहोर पनि हामीले यहाँको कृषि फर्मसँग सम्झौता गरेर लहानको माल्दा आँप काठमाडौँ लगेर विक्रीको व्यवस्था मिलाएको थियौं । त्यो राम्रो र सफल कार्यक्रम भयो । यसपालि पनि यहाँको आँप काठमाडौँमा विक्री गर्नको लागि सरस्वती कृषि फर्मसँग सम्झौता गरेका छौं,’ लहान नगरपालिकाको कृषि विकास अधिकृत प्रकाश साहले वडापालिकासँग भने ।

नगरपालिकाले सो फर्मसँग केही दिन अघि मात्रै सम्झौता गरेको हो । कृषि फर्मले अब किसानसँग आँप खरिद गरेर प्याकेजिङ गरी काठमाडौँ ल्याएर विक्री गर्नेछ । सो प्याकेटमा लहान नगरपालिकाको पनि नाम हुनेछ ।

यसको लागि नगरपालिकाले आँप संकलन, भण्डारण, ढुवानी र प्याकेजिङमा लाग्ने खर्चको ५० प्रतिशत अनुदान दिनेछ । किसानलाई आँपको मूल्य भने कृषि फर्मले नै दिनेछ । सम्झौता अनुसार लहान २४ मा रहेको सरस्वती कृषि फर्मले स्थानीय किसानसँग आँप किनेर संकलन गर्ने, ग्रेडिङ गर्ने र प्याकेजिङ गर्ने कार्य गरेको छ ।

स्थानीय उत्पादनको ब्राण्डिङ गरी उपभोक्तालाई सुलभ मुल्यमा उपलब्ध गराउन नगरपालिकाले यस्तो काम गरेको हो । 

विषाधीरहित 

व्यवसायी तथा नगरपालिकाका कर्मचारीहरुले लहानको आँपमा विषाधी प्रयोग नगरी ब्राण्डिङ गर्ने पहल गरिएको बताएका छन् । काठमाडौंमा लहानको आँप जति नामी छ, त्यतिकै बदनाम पनि भएकोले यसको ब्राण्डिङ गर्न लागिएको हो ।

लहानको आँप भनेर अर्कै ठाउँको बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर लहानको आँपलाई बदनाम गराउने जस्ता हर्कत भएकोले लहानको अग्र्यानिक आँपलाई प्रबद्र्धन गर्न कार्यक्रम संचालन गरिएको नगरपालिकाको भनाइ छ ।

असार पहिलो सातादेखि लहानको माल्दा आँप काठमाडौँमा पाइने सरस्वती कृषि फर्मका संचालक महतोले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update