Odapalika - The Fourth Estate - चौथो अंग
पत्रकार महासङ्घ भक्तपुरको अधिवेशन सम्पन्न, चार पत्रकार सम्मानीत

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको नवौँ अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । प्रेस युनियन, भक्तपुरको बहिष्कारका बीच पनि शाखाको अधिवेशन शनिबार भक्तपुरमा सम्पन्न भएको हो ।

साधारणसभाको शनिबार उद्घाटन गर्दै सांसद दुर्लभ थापाले राजनीतिक दलभन्दा माथि उठेर नैतिकताका आधारमा पत्रकारिता गर्नुपर्ने बताए । उनले वास्तविक पत्रकार ओझेलमा परिरहेको वर्तमान अवस्थामा पत्रकारले सत्यतथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धामा आउनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठ्यारो आएमा पत्रकारितामार्फत सुल्झाउनुपर्ने धारणा राख्दै सांसद थापाले हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले दैनिक हजारौँको सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाह गर्नसक्नुपर्ने बताए । जनतालाई सचेत गराउने वर्ग पत्रकार भएकाले पत्रकारिताको धर्म निर्वाह गर्दै सकारात्मक सोच आउने किसिमका समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए ।

मध्यपुर  थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगरपालिकाले प्रचारमुखी नभई जनमुखी भएर काम गरिरहेको बताए । उनले केही अनलाइन आफ्नै बारेमा अनि पूर्वाग्रह राखेर समाचार प्रकाशन प्रशारण गरेको गुनासो गर्दै उनले पत्रकारिता मर्यादित र बिश्वशनीय हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासङ्घ समस्याबाट नभाग्ने भन्दै आइपर्ने समस्या समाधान गर्दै अघि बढ्न तयार रहेको बताए ।

चार पत्रकार सम्मानीत

नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाले वरिष्ठ पत्रकार माथवरसिंह थापासहित चार जना पत्रकारहरुलाई सम्मान गरेको छ । शाखाको शनिबार सम्पन्न ९ औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापालाई नगद पाँच हजार रुपैयाँसहित वरिष्ठ पत्रकार सम्मानले अभिनन्दन गरिएको हो । 

त्यस्तै, राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूर्णभक्त दुवाललाई १५ हजार रुपैयाँसहित स्व. भगवान, राजकुमार महर्जन स्मृति पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, ५–५ हजार नगदसहित चन्द्रकला क्षेत्री भगवतीलाई महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व. मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरिएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update