Odapalika - The Fourth Estate - चौथो अंग
मेयर बालेनको एउटा कार्यक्रमले दबाबमा ७५२ पालिका, कार्यान्वयन गर्न लाज लाग्ने, नगरे आपत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुरु गरेको एउटा कार्यक्रमका कारण देशभरका पालिकाहरुले दबाब महसुस गरेका छन् ।

देशव्यापी लागू हुने गरेर मेयर बालेनले सुरु गरेको निःशुल्क स्वास्थ्य उपचार कार्यक्रमका कार्यान्वयन गर्दा हिनताबोध हुने र कार्यान्वयन नगरे जनताबाट आफै तिरस्कृत हुने अवस्थामा अन्य पालिकाहरु पुगेका हुन् ।

काठमाडौँ महानगरका मेयर बालेनले बैशाख दोस्रो सातादेखि देशभरका गरिब र विपन्न नागरिकको निःशुल्क उपचार गराउने कार्यक्रम घोषणा गरेका थिए । उनले काठमाडौँ महानगरभित्र रहेका ५२ अस्पतालमा विपन्न र असहाय नागरिकको निःशुल्क उपचार गरिने बताएका थिए ।

काठमाडौँ महानगरले यो कार्यक्रम कार्यान्वयन थालिसकेको छ । काठमाडौँ महानगरभित्रका अस्पतालले १० प्रतिशत बेड विपन्न र असहाय नागरिकको निःशुल्क उपचारमा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्दै महानगरले देशभरका नागरिकले यो सुविधा पाउने बताएको छ ।

के भनेको छ काठमाडौँ महानगरले ?

काठमाडौँ महानगरले विपन्न र असहाय नागरिकको निःशुल्क उपचारको प्रक्रिया अघि बढाएको छ । यसका लागि महानगरले संबैधानिक र कानुनी व्यवस्था पनि स्पष्ट गरेको थियो । विपन्न र असक्तहरुलाई निःशुल्क उपचार गर्न महानगरले अनलाइन प्रणालीको विकास गरेको छ । 

नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको छ ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका अस्पतालहरुले विपन्न, असहाय र ब्यवारिसे नागरिकहरुलाई कुल बेडमध्ये १० प्रतिशत विरामीलाई लाग्ने सम्पुर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ । नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० (घ) मा समेत सो सम्बन्धि व्यवस्था गरेकाले नेपाल भरका उक्त वर्गमा पर्ने नागरिकहरुलाई काठमाडाैँ महानगरपालिका क्षेत्र भित्रका अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको  महानगरले जनाएकाे छ ।

केके चाहिन्छ कागजात ?

काठमाडौँ महानगरका अनुसार विपन्न र असहाय विरामीले निःशुल्क उपचार गर्न ५ प्रकारका कागजात चाहिन्छ । ती हुन्–

१. नेपाल सरकार र प्रदेश सरकार र स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजातर परिचय पत्र वा,

२. राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता प्रमाण पत्र र जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,

३. रोग पहिचान भए सोको कागजपत्र र,

४. अनुसूची–५ को आधारमा सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची–४ अनुसारको सर्जमिन गरेको कागज र,

५. सम्वन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची–३ अनुसारको सिफारिस गरेको पत्र ।

अस्पतालहरुले आकस्मिक कक्षमा आएका विरामीसँग रकम रहेनछ भने निःशुल्क उपचार गर्नुपर्ने महानगरको भनाइ छ ।

‘आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामीलाई प्रारम्भिक स्वास्थ्य उपचार निःशुल्क प्रदान गर्नु पर्नेछ,’ महानगरले भनेको छ ।

७५२ पालिकालाई निल्नु न ओकल्नु बनेको अनुसुची ३ र ४

काठमाडौँ महानगरले सुरु गरेको विपन्न तथा असहाय नागरिकको निःशुल्क उपचार कार्यक्रम काठमाडौँ महानगरबाहेक ७५२ पालिकाको लागि निल्नु न ओकल्नु बनेको छ । यसको कारण महानगरले बनाएको अनुसूची फारामको ढाँचा । जसमा पालिकाहरुले काठमाडौँ महानगरलाई सिफारिस गर्नुपर्ने भन्ने व्यवस्था छ ।

नेपालको संविधान र कानुन अनुसार देशभरका पालिकाहरुको हैसियत बराबर हो । काठमाडौँ महानगरले अन्य पालिकाका विपन्न र असहाय नागरिकको निःशुल्क उपचार गरिदिने र त्यसको लागि सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्ने भन्ने व्यवस्थाप्रति अन्य पालिकाले हिनताबोध गरेको पाइएको छ ।

‘काठमाडौँ महानगरभित्रका सुविधा सम्पन्न अस्पतालमा विपन्न र असहाय नागरिकलाई निःशुल्क उपचार गर्ने भनिएको छ । यसका लागि मैले सिफारिस गदिनुपर्ने भयो । म पनि एउटा पालिकाको प्रमुख हुँ । पहिलो कुरा त काठमाडौँ महानगरले यस्तो कार्यक्रम संचालन गरेको छ भन्ने कुरा मेरो पालिकालाई औपचारिक रुपमा जानकारी छैन । दोस्रो कुरा, मेरो पालिकाका जनतालाई मैले उपचार गराउन सकिनँ भनेर काठामाडौँ महानगरपालिकालाई निवेदन हाल्ने जस्तो भयो । त्यसैले सिफारिस गर्न अप्ठेरो परिरहेको छ,’ रुकुम पश्चिमको एक पालिकाको प्रमुखले वडापालिकासँग भने ।

यद्यपि, सिफारिस नगर्दा नागरिकले आफूसँग झगडा नै गर्न थालेको उनले सुनाए । ‘काठमाडौँमा निःशुल्क उपचार हुने अवस्था छ । तपाईंले उपचार गरिदिन त सक्नु भएन, एउटा सिफारिस त दिनु न हो भन्दै नागरिकले झगडा गर्न थालेका छन् । व्यवहारिक रुपमा हेर्दा उनीहरुको कुरा पनि ठिकै हो । हामीसँग सुविधा सम्पन्न अस्पताल छैनन् र राम्रा अस्पतालमा उपचार गराउनु भनेर पैसा दिन पनि सकिदैन । यसैले हामीलाई दोहोरो दाबाब जस्तो भएको छ,’ ती प्रमुखले भने ।

कसरी पाइन्छ निःशुल्क उपचार ?

विपन्न तथा असहाय नागरिकको निःशुल्क उपचारको लागि काठमाडौं महानगरले अनलाइन प्रणाली नै बनाएको छ । काठमाडौँ महानगरभित्रका ५२ वटा अस्पतालमा निःशुल्क उपचार गराउन थालिएको हो ।

महानगरभित्रका अस्पतालले १० प्रतिशत बेड विपन्न र असहाय नागरिकको निःशुल्क उपचारको लागि उपलब्ध गराउँछौं भनेर अनुमती लिएका हुन्छन् । यस्ता अस्पतालहरु ५२ वटा छन् । ती अस्पतालमा ३७४ वटा बेड निःशुल्क उपलब्ध हुन्छन् । काठमाडौँ महानगरले यिनै अस्पतालमा निःशुल्क उपचार गराउने हो ।

महानगरले निःशुल्क उपचार गराउनको लागि अनलाइन प्रणाली सुरु गरेको छ । सो प्रणालीमा राखिएको अनुसुची फारामहरुका अनुसार निःशुल्क उपचार पाउनको लागि विरामी वा उसका आफन्तले उनीहरुको स्थायी बसोबास भएको पालिकाको वडामा निवेदन दिनुपर्छ । यसरी निवेदन दिएपछि सो वडाले सर्जमिन गरी सो व्यक्ति विपन्न वा असहाय भए नभएको यकिन गर्छ ।

यसरी सर्जमिन गर्दा उपचार गराउनु पर्ने व्यक्ति असहाय वा विपन्न भएको ठहर भएमा वडा कार्यालयले काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागलाई सो सर्जमिन सहित सिफारिस पठाउँछ । सिफारिस भने विरामीले उपचार गराउने अस्पताललाई गर्नुपर्छ ।

यस्ताे छ निःशुल्क उपचार प्रकृया

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update