Odapalika - The Fourth Estate - चौथो अंग
चिकित्सक बोकेर भेडीगोठ उक्लियो तामनखोला गाउँपालिका

बागलुङ । तमानखोला गाउँपालिकाले बागलुङ र म्याग्दीको संगमस्थल गुर्जाघाटका भोडी गोठमै पुगेर गोठालाको स्वास्थ्य परीक्षण थालेको छ । 

स्थानीयवासीले बुकी भनेर चिन्ने भेडीगोडमा विद्यालय बन्द भएका बेला बालबालिकासहित कृषकहरु गोठमा बस्ने र खानपानीको व्यवस्था नहुदा रुखको टोड्काको पानी खानुपर्ने वाध्यता छ । 

जसका कारण अधिकांश गोठालामा विभिन्न रोग र संक्रमण देखिएपछि गाउँपालिकाले स्वास्थ्यकर्मी पठाएर बुकीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरे पालिका अध्यक्ष जोकलाल वुढा मगरले जानकारी दिए । ‘स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा बुकीमै उपचारको व्यवस्था मिलाएका हौँ,’ अध्यक्ष वुढामगरले भने । 

तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ । अहिलेसम्म त्यहाँ सडक पुगेको छैन । बुकीभन्दा माथि बस्ने गोठालाले भने सेवा लिन नपाएको अध्यक्ष मगर बताउँछन् । 

तामनखोला र आसपासका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाट सरेका छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट गोठ तथा पशुचौपायाले भरिएको छ । तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दीको धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर पुग्ने गर्छन् । 

झण्डै ४ महिना लेकको गोठमै बिताउने गोठालाले यो अवधिलाई पुग्ने खानपान वोकेर जान्छन् । गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो । 

गोठमा बिरामी परे जडीबुटी र धामी झाँक्रीको मात्र भर छ ।  एउटा पनि धारा नभएका कारण गोठालाले पोखरी, रूखको टोड्का र मूलको पानी प्रयोग गर्ने गरेका कारण संक्रमण रोगका कारण कतिपयले गोठमै ज्यान गुमाउने गरेका छन् । पालिकाले अकालमा ज्यान गुमाउन नपरोस भनेर गोठमै पुगेर उपचार गरेको जनाएको छ । 

गोठमा उपचारका लागि पुगेका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखला लाग्ने, उच्च रक्तचापलगायत समस्या देखिएको बताए । अध्यक्ष बुढा मगरसहित १२ जनाको टोलीले बुकी पुगेर सञ्चालन गरेको शिविरमा १०० भन्दा वढी गोठालाको उपचार गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update